नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जले बिरामीलाई ५० शैया निःशुल्क प्रदान गर्न लागेको छ । अस्पतालले शुक्रबार (भोलि) देखी उक्त कार्यक्रम कार्यान्वयन गर्न लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुसार उक्त कार्यक्रम कार्यान्वयन गर्न लागिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले जानकारी दिए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ड डा. पवनजंग रायमाझीका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक अस्पतालको कुल शैयाको १० प्रतिशत बेड निःशुल्क गर्नुपर्छ ।
भिडियो हेर्नुस् :
भेरी अस्पतालमा हाल रहेको १ सय ६० शैया मध्ये लक्षित वर्गका र आर्थिक अवस्था कमजोर भएका बिरामीलाई ५० वटा मेडिकल शैया निःशुल्क रुपमा उपलब्ध गराउन लागिएको रायमाझीले बताए । ‘सम्बन्धित वडामा र सम्बन्धित निकायमा आज पत्राचार गरिसकेका छौं, भोलीदेखी नै लागु हुन्छ,’ उनले भने ।
अस्पतालमा प्रायः आर्थिक अवस्था कमजोर भएका र टाढा-टाढाबाट बिरामीहरु आउने गरेका छन् । अस्पतालले इमरजेन्सीका सम्पूर्ण बेड पनि निःशुल्क गरेको जनाएको छ । उक्त अस्पतालले हालसम्म बिरामीसँग साधारण शैयाको शुल्क एक सय रुपैयाँ लिने गरेको छ ।
अस्पतालसँग हाल १० वटा आईसियु शैया रहेको छ । ‘आईसियुको न्युनतम शुल्क नै हुन्छ, प्राईभेटको जस्तो महंगो हुदैन, कुनै ब्यक्तिले पैसा तिर्न नसकेको अवस्थामा सरकारले निःशुल्क कार्यक्रम सञ्चालन गरिरहेको छ,’ रायमाझीले भने । अस्पतालसँग हाल ४ वटा भेन्टिलेटर उपलब्ध छ ।
उनले थपे, ‘भेन्टिलेटर सञ्चालनका लागि जति संख्यामा स्वास्थ्यकर्मी हुनुपर्ने हो, उहाँहरु नभएको अवस्थामा हाल ४ वटा भेन्टिलेटर हामीले सञ्चालनमा ल्याएका छौं, कोहीपनि ब्यक्तिलाई पैसाको अभावमा भन्टिलेटर सेवाबाट हामीले बञ्चित गराएको अवस्था छैन ।’