बाँके(ओभरी) : बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहको सरुवा भएको छ । करिव तीन वर्षसम्म निकुञ्जको प्रमुख संरक्षण अधिकृत भएर काम गरेका उनको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा सरुवा भएको हो ।
शाहको सरुवा भएपछि विभागबाटै मनोज कुमार शाहलाई बाँके राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृतको जिम्मेवारी दिइएको छ । उनी केही दिनमै बाँके आउनेछन् । प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहलाई निकुञ्ज कार्यालयले शुक्रबार औपचारिक रुपमा बिदाई गरेको छ ।
निकुञ्ज कार्यालयमा आयोजित ‘फेरी भेटौला’ कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का, अर्जुन वाण गणका गणपति अशोक खड्का, साझेदार संस्थाका तर्फबाट हिमालय नेचरका श्रीराम शर्मा, कोहलपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश ओली, निकुञ्जका निमित्त संरक्षण अधिकृत अर्जुन भुसाल लगायतले शाहको तीन वर्षे बसाई अत्यन्त अविष्मरणीय रहेको बताए ।
तीन वर्षमा शाहले विवादरहित ढंगले काम गरेको स्मरण गर्दै आगामी कार्यकाल पनि सफलताको कामना गरेका थिए । सो क्रममा प्रमुख संरक्षण अधिकृत शाहले आफ्नो बाँके बसाई अत्यन्त फलदायी रहेको बताए । दुर्लभ पाटेबाघको विषयमा पिएचडी अध्ययन गरिरहेका शाहले आफुले बाँकेमा बसेर धेरै कुरा सिक्ने अवसर पाएको धारणा राखे ।
पाटेबाघको विषयमा अध्ययन, अनुसन्धान गर्नुपर्ने भएकाले उनी बाँकेमा थप समय बसेका थिए । उक्त कार्यक्रममा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिति, निकुञ्जका कर्मचारी, साझेदार संस्थाहरु हिमालय नेचर र जेडएसएल नेपालका प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रम निकुञ्जको मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष खड्काको अध्यक्षतामा भएको थियो । प्रमुख संरक्षण अधिकृत शाहलाई कर्मचारी मिलन केन्द्र बाँके लगायत निकायले पनि औपचारिक रुपमा बिदाई गरेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य लगायतले विदाई गरेका थिए ।