नेपालगन्ज : नेपाल विद्युत प्राधिकरण नेपालगन्ज र कोहलपुर वितरण केन्द्रका नयाँ प्रमुखले सोमबारदेखी पदभार ग्रहण गरेका छन् । नेपालगन्ज वितरण केन्द्रमा सहायक प्रबन्धक जगन्नाथ लामिछाने तथा कोहलपुर वितरण केन्द्रमा इन्जिनियर माधव महतले पदभार ग्रहण गरेका हुन् ।
नेपालगन्जमा यसअघि सहायक प्रबन्धक दिवाकर प्याकुरेल तथा कोहलपुर वितरण केन्द्रमा सहायक प्रबन्धक सुरज रेग्मी कार्यरत थिए । आफ्नो दुई वर्षे कार्यकाल पूरा गरी प्याकुरेल घोराही वितरण केन्द्र र रेग्मी परासी वितरण केन्द्रका लागि बाँकेबाट सरुवा भएका हुन् ।
केन्द्र प्रमुख रेग्मीको कार्यकालमा कोहलपुरभित्र विद्युतीय सेवा थप सुलभ भएको छ । ग्राहकले निवेदन दिएको २४ घण्टाभित्र सिंगल फेज विद्युत मिटर हस्तान्तरण, विभिन्न सेवा एकीकृत गर्दै एकद्वार सेवा प्रवाह प्रणाली, बिद्युत बक्यौता असुली, महसुल संकलन, सुविधासम्पन्न वातानुकुलित ग्राहक प्रतिक्षालय, विभिन्न दुई स्थानमा फ्युज सेवा केन्द्र विस्तार लगायतका ग्राहकमैत्री सेवा थालिएको थियो ।
केन्द्र प्रमुख रेग्मीकै सक्रियतामा कोहलपुर वितरण केन्द्रसँगै जोडिएको २ कट्ठा जग्गा पनि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
त्यसैगरी, नेपालगन्ज वितरण केन्द्रका प्रमुख प्याकेरको सक्रियतामा विभिन्न स्थानमा विद्युतीकरण, लाइन निर्माण र सुधार, विद्युत बक्यौता असुली, चुहावट नियन्त्रण, सिँचाइ विद्युत मिटर अनुगमन लगायतका उल्लेखनीय काम भएको केन्द्रले जनाएको छ ।
पदभार ग्रहण गर्दै प्रमुख लामिछानेले नेपालगन्ज र अन्तरगतको सेवा क्षेत्रमा गुणस्तरीय विद्युत सेवा प्रवाह गराउनु आफ्नो पहिलो मुख्य लक्ष्य रहेको बताए । सबैको साथ र सहकार्यको अपेक्षा राख्दै उनले छिट्टै कार्ययोजना बनाएर सुधारको अनुभुती दिलाउने गरि काम गर्ने बताए ।