नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको महासचिवमा भिमबहादुर रानाभाटले मान्यता पाएका छन् । संघको एक महिनाअघि सम्पन्न निर्वाचनको मतगणनाका क्रममा विवाद उत्पन्न भएको थियो ।
मत गणना कार्य नसकिदै निर्वाचन अधिकृतले राजनीतिक पुर्वाग्रहका आधारमा रानाभाटलाई महासचिवमा निर्वाचित भएको घोषणा गरेको भन्दै साझा प्रजातान्त्रिक उद्योगी ब्यवसायी समुहका तर्फबाट उम्मेदवार रहेका टंकप्रसाद शर्मा अदालत पुगेका थिए ।
यस्तै निर्वाचनमा धाँधली गरेको भन्दै उक्त समुहले निर्वाचन अधिकृतको कार्यालय रहेको नेपालगन्ज रंगशालास्थित कर्भट हल तथा नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी गरेको थियो । अदालतले अन्तरिम आदेश जारी गरेपछि उक्त समुहले ताला खोलेको थियो ।
उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले सोमबार संघको महासचिव पदमा परेको उक्त रिट खारेज गरिदिएको बताइएको छ । अदालतले शर्माको रिट खारेज गरेसँगै रानाभाटले महासचिव पदमा मान्यता पाएको बताइएको छ ।
अदालतले रिट खारेज गरेसँगै रानाभाटले न्यायको जीत भएको बताएका छन् । ‘अदालतले ढिलै भएपनि मलाई न्याय दियो, म अदालतको निर्णयलाई उच्च सम्मान गर्छु,’ उनले भनेका छन् ।
प्रजातान्त्रिक उद्योगी, ब्यवसायी संघ बाँकेका सचिव हिमनाथ पौडेलले अदालतले रिट खारेज गरिदिएको कुरा आफुले सुनेपनि औपचारिक जानकारी नआएको बताए । ‘अदालतको आदेशलाई त सम्मान गर्नैपर्छ, तर यो विषयमा हाम्रो औपचारिक समिक्षा भएको छैन,’ पौडेलले भने ।