नेपालगन्ज : नेपालगन्जमा मंगलबार सद्भाव र्याली निकालिएको छ । नेपालगन्जको विपी चोकबाट मंगलबार(आज) बिहान र्याली निकालिएको हो । सद्भाव र्याली सुर्खेतरोड हुदै बीरेन्द्र चोकमा पुगेर समापन भएको थियो ।
उक्त र्यालीमा विभिन्न धर्मका धर्मगुरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सांसद, नागरिक समाजका अगुवा, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो । र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) प्रशान्त विष्टले सद्भावको शहरका रुपमा नेपालगन्जले छुट्टै परिचय बनाएको बनाए ।
दुई दिनअघि भएको सामान्य घटनालाई लिएर केही तत्वहरुले सद्भाव बिथोल्न खोजेको आरोप लगाए । ‘नेपालगन्जमा बहुभाषिक, बहुधार्मिक समुदाय बसोबास गर्छन्, केही यस्ता तत्वहरु छन्, जसले सामान्य कुरालाई लिएर धार्मिक तथा सामाजिक सद्भाव बिथोल्न खोज्छन्, नेपालगन्जको धार्मिक तथा सामाजिक सद्भाव त्यति कमजोर छैन,’ उनले भने ।
सद्भाव बिथोल्न खोज्नेलाई प्रहरी प्रशासनले नियन्त्रणमा ल्याउनुपर्ने मेयर विष्टले बताए । यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नेपालगन्ज सामाजिक तथा धार्मिक सद्भावको शहर भएको बताए । ब्यक्तिले गरेको गल्तीमाथी कानुनी कारबाही हुने बताउँदै सद्भाव कायम राख्नमा सबैको भुमिका महत्वपूर्ण रहेको धारणा राखे ।
यसैगरी बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगीले समाजमा केही ‘कुतत्व’ रहेको र उनीहरुले सद्भाव बिगार्न चाहने बताए । ‘कुतत्वका कारण हाम्रो सद्भाव खल्बलिदैन,’ योगीले भने ‘समाजलाई बिगार्न कुतत्वहरु चाहन्छन्, तर हाम्रो सद्भावलाई यिनीहरुले तोड्न सक्दैनन् ।’
मुस्लिम धर्म गुरु अब्दुल जब्बार मन्जरीले नेपालगन्जको धार्मिक तथा सामाजिक सद्भाव गुलाबको फुलजस्तै रहेको बताए । ‘यो सामाजिक सद्भावलाई बचाई राखौं, यसमा हामी सबै धर्मगुरुहरु एकजुट छौं,’ उनले भने ‘जसले सद्भावलाई बिगार्छ, त्यसको पक्षमा हामी छैनौं ।’
जिल्ला प्रशासन कार्यालय बाँकेमा सोमबार बसेको सर्बदलिय तथा सर्बपक्षिय बैठकले सद्भाव र्याली निकाल्ने निर्णय गरेको थियो । उक्त बैठकले कुनैपनि ब्यक्ति, संघ संस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्धेष फैलाउने वा कुनै धर्मको विरुद्ध हुने गरी सामाजिक सञ्जालमा फोटो, लेख, रचना वा अन्य कुनै किसिमको संकेत नगर्न तथा जातीय, धार्मिक सद्भावमा खलल पुर्याउने कानुन विपरितका गतिविधी नगर्न चेतावनी दिएको छ ।
यो पनि पढ्नुस् :
नेपालगन्जमा निकालिदै सद्भाव र्याली