नेपालगन्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले निजी अस्पतालले १० प्रतिशत बेड पूर्ण निःशुल्क गर्नुपर्ने बताएका छन् । अस्पतालले पूर्ण निःशुल्क नगरेमा अस्पतालको नवीकरण नगरिने स्पष्ट पारे ।
बाँकेको खजुरामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले सरकार आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्ने अभियानमा रहेको बताए । धेरै अस्पतालमा जनशक्ति अभाव रहेको देखिएकाले जनशक्ती व्यवस्थापनमा सरकार जुटिसकेको बताए ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले गठबन्धनको सरकार भएकाले अन्य दलको निमित्त पनि काम गर्नुपर्ने अवस्था रहेकाले सोचे जस्तो परिणाम आउन नसकेको बताए ।
प्रदेश र संघीय अस्पताललाई सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने लक्ष्य रहेको उनको भनाई छ । संघ र प्रदेशका मन्त्रीसहितको टोलीले खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको समेत अनुगमन गरेको थियो ।
उक्त कार्यक्रममा प्रतिनिधि सभा सांसद आशा बि.क, परोपकार मिसन नेपाल खजुराका अध्यक्ष महेन्द्र मल्ल ठकुरी, भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाह, मेडिकल सुपरिटेन्डेण्ट पवनजंग रायमाझी, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका अध्यक्ष टेकेन्द्र मल्ल, पदाधिकारी, चिकित्सक, कर्मचारी, स्वास्थ्यकर्मी लगायतको उपस्थिती रहेको थियो ।