नेपालगन्ज : शान्त बन्दै गएको नेपालगन्ज उपमहानगर क्षेत्रमा पुनः असहज परिस्थिति उत्पन्न भएपछि कडा सुरक्षा अपनाइएको छ । दुई समुदायबीच बिबाद उत्पन्न भएपछि स्थानीय प्रशासनले मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियोे ।
तर, जनजीवन शान्त बन्दै गएको भन्दै बिहीबार बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यु हटाइएको थियो । तर, पाँच जनाभन्दा बढी भेला हुने, जुलुस गर्न, पर्चा पम्पलेट टाँस्न रोक लगाइएको छ ।
स्थानीय प्रशासनले कर्फ्यु खुकुलो पारेपनि स्थिती सहज हुन भने सकेको छैन । दुई समुदाय बीच बेला-बेलामा सामान्य कुरामै विवाद हुन थालेपछि सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय बाँंकेका प्रवक्ता (डिएसपी) नारायण डाँगीले बताए ।
उनका अनुसार नेपालगन्जको विपी चोक र त्रिभुवन चोक क्षेत्रमा शुक्रबार दिउँसो असहज परिस्थिति उत्पन्न हुन थालेपछि प्रहरीले दुई सेल अश्रु ग्याँस प्रहार गरेको थियो ।
प्रहरीले अश्रु ग्याँस प्रहार गरेपछि भिड तितर-बितर भएको थियो । सो क्रममा ४ जनालाई नियन्त्रणमा लिइएको डाँगीले बताए ।
सद्भाव बिथोल्न खोज्ने जो कोहीलाई पनि नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने यहाँका राजनीति दल, जनप्रतिनिधि, नागरिक समाज,धर्मगुरुले स्थानीय प्रशासनलाई आग्रह गरिसकेका छन । नेपालगन्जको सद्भाव बिथोल्न खोज्ने प्रयास अहिले पनि भईरहेको छ ।