नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजले उच्च स्तरको न्यूरो सर्जरी सेवा प्रदान गर्ने तयारी गरेको छ । यसका लागि नेपालगन्ज मेडिकल कलेज र अन्नपूर्ण न्यूरोलोजिकल इष्टिच्युट एण्ड अलाइड साइन्स काठमाडौंबीच सम्झौता भएको छ ।
मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडिया र अन्नपूर्ण न्यूरोलोजिकल इष्टिच्युट एण्ड अलाइड साइन्सका अध्यक्ष डा. बसन्त पन्तबीच शुक्रबार बेलुका सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात उच्च स्तरको उक्त न्यूरो सर्जरी सेवा दसै लगत्तै सञ्चालनमा ल्याउने मेडिकल कलेजका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाले जानकारी दिए ।
भिडियो हेर्नुस् :
उनका अनुसार मेडिकल कलेजले न्यूरो सर्जरी सेवा प्रदान गर्दै आएपनि दक्ष जनशक्ती र अत्याधुनिक प्रविधिमार्फत उच्च स्तरको सेवा प्रदान गर्न लागिएको हो । मेडिकल कलेज र डिपार्टमेन्ट अफ न्यूरोसाइन्सको प्राविधिक सहयोग र सुझावमा संयुक्त रुपले सेवा सञ्चालन हुने सहायक निर्देशक कनोडियाले बताए ।
‘यसरी पश्चिम नेपालका बिरामीहरुलाई न्यूरोसाइन्सको क्षेत्रमा उच्च स्तरिय सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ,’ उनले भने ’सहमती अनुसार मेडिकल कलेजमा अन्नपूर्ण न्यूरोका तर्फबाट ३ जना सिनियर र न्यूरो विशेषज्ञ तथा दुई रेसिडेन्ट खटाइनेछ, यसरी खटाइएका न्यूरो टिमलाई मेडिकल कलेजले हरेक महिनाको आपसी सहमती अनुसार मासिक तलब दिन्छ, उनीहरु प्राईभेट काम गर्न पाउने छैनन् ।
सम्झौता कार्यक्रममा मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. कनोडियाले यो सेवा सुरु भएपछि उच्च स्तरको र गम्भिर खालको न्यूरो सर्जरी पनि नेपालगन्जमै हुने बताए । न्यूरो सर्जरी सेवालाई बिस्तारै विकास गर्दै लैजाने लक्ष्य अनुसार सम्झौता गरिएको जानाकारी दिए ।
‘न्यूरो सर्जरीको विकास, न्यूरो विज्ञानको विकासका निम्ति संयुक्त रुपले नेपालगन्ज मेडिकल कलेजमा काम गर्न उहाँहरुको प्राविधिक सहयोग रहनेछ,’ डा. कनोडियाले भने ‘उहाँहरुको अस्पतालका विज्ञहरु डाक्टर ‘साब’हरु निरन्तर हाम्रो साथमा काम गर्नुहुनेछ, आवश्यक परेमा उच्च स्तरको, कम्प्लिकेटेशन सर्जरी पनि बिस्तारै यहाँ विकास गर्दै जाने उहाँको लक्ष्य छ ।’
सेवा सुचारु भएपछि यस क्षेत्रका जनताले ठुलो राहत पाउने बताए । ‘म के अनुरोध गर्न चाहन्छु भने सर्बप्रथम त हाम्रो देशमा यस्तो काम भइरहेको छ भन्ने कुरा थुप्रैलाई जानकारी नै छैन, यो काम हामी मिलेर गर्यौं भने बिरामीले सुबिधा पाउँछन्,’ प्रबन्ध निर्देशक कनोडियाले थपे ।
अन्नपूर्ण न्यूरोलोजिकल इष्टिच्युट एण्ड अलाइड साइन्सका अध्यक्ष डा. पन्तले आफुसँग लामो समयसम्म सँगै बसेर काम गरेका अनुभवी डाक्टरले अब मेडिकल कलेजमा उच्च स्तरको सेवा प्रदान गर्ने बताए । ‘हामीले प्राविधिक सहयोग गर्ने हो,’ उनले भने ‘लगानी नेपालगन्ज मेडिकल कलेजले लगानी बढाउने हो, लगानी गरेको पैसा फिर्ता हुन्छ ।’
यस क्षेत्रका बिरामीलाई मेडिकल कलेजले नै उच्च स्तरको गुणस्तरिय सेवा दिनुपर्ने डा. पन्तले बताए । ‘ब्यवसाय गर्नका लागि मात्रै डाक्टर बसेको छैन, डाक्टरले बिरामीको सविधालाई पनि ध्यान दिनुपर्छ,’ उनले थपे । मेडिकल कलेजले पश्चिममा राम्रो काम गरिरहेको भन्दै प्रशंसा पनि गरे । मेडिकल कलेजले आधुनिक उपकरण ल्याउन जरुरी रहेको सुझाव दिए ।
उनले अगाडी थपे, ‘यो ठाउँका मान्छेले यति दुःख पाएको छ, म कहाँ पनि थुप्रै मान्छे आउनुहुन्छ, जहाँ चोट लागेको छ, त्यहाँ उपचार गराउन पाउनुपर्छ, यो मेडिकल कलेज अन्नपूर्णभन्दा माथी बढ्छ भनेपनि म सहयोग गर्न तयार छु ।’ सो क्रममा मेडिकल कलेज, अन्नपूर्ण न्यूरो अस्पताल तथा नेपालगन्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुको उपस्थिती रहेको थियो ।