नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले आइतबार (आज) महासचिव भिमबहादुर रानाभाटलाई पद तथा गोपनियताको सपथ खुवाउँदै छ । संघको कार्यालयमा बिहान १० बजे सपथ खुवाउने कार्यक्रम राखिएको हो ।
महासचिव पदको मत गणनामा धाँधली भएको, मत गणना कार्य सम्पन्न नहुँदै पुर्वाग्रही रुपले आफु अनुकुलका ब्यक्तीलाई निर्वाचित घोषणा गरिएको भन्दै अर्का प्रत्यासी टंकप्रसाद शर्माले उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट निवेदन दर्ता गरेका थिए । तर, अदालतले ‘अन्य वैकल्पिक बाटो हुँदा हुदै सो उपचार अवलम्वन नगरी निवेदक रिट क्षेत्रमा प्रवेश गरेको देखिदाँ निवेदन माग बमोजिम आदेश जारी हुन सक्ने अवस्था विद्यमान नदेखिदाँ प्रस्तुत रिट निवेदन खारेज हुने ठहर' गरेको थियो ।
संघले अदालतको पूर्णपाठ नआउँदै हतारमा पद तथा गोपनियताको सपथ खुवाउन लागेको भन्दै यहाँका कतिपय उद्योगी, ब्यवसायीले असन्तुष्टी ब्यक्त गरेका छन् । तर, अदालतले यही असोज १५ गते भएको फैसला/आदेशको पूर्णपाठ तयार हुन केही समय लाग्ने जनाएको छ ।
अदालतको आदेशको पूर्णपाठ नआउँदै हतारमा पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम गरिदाँ त्यसले उद्योगी ब्यवसायीमाझ नराम्रो सन्देश जाने र अदालतको पनि अपहेलना हुने उनीहरुको धारणा छ । संघका अध्यक्ष टंकबहादुर धामीले निर्वाचन आयुक्तले नै प्रमाणपत्र दिइसकेपछि आफुले महासचिवलाई पद तथा गोपनियताको सपथ गराउनुको विकल्प नभएको बताए ।
‘संघको निर्वाचन गराउनु भएका आयुक्तले नै सपथ ग्रहण गराउने भनेर पत्र पठाउनु भएको छ, उहाँले प्रमाणपत्र पनि दिइसक्नु भयो, निर्वाचन समितिले प्रमाणपत्र दिइसकेको अवस्थामा अब हामीले कसरी महासचिवलाई सपथबाट रोक्ने ?’ अध्यक्ष धामीले भने । यस विषयमा महासचिवका प्रत्यासी टंकप्रसाद शर्माको पनि संघको कार्यालयमा निवेदन प्राप्त भएको उनले बताए । ‘उहाँ(टंकप्रसाद शर्मा)को कुरा पनि जायज छ,’ धामीले भने ।
यस्तै संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले आइतबार बिहान १० बजे कार्यसमितिको बैठक राखिएको र सोही बैठकमा अध्यक्षले महासचिव रानाभाटलाई पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम राखिएको बताए । ‘उहाँ(रानाभाट)ले प्रमाणपत्र पाईसक्नु भएको छ, अब पद तथा गोपनियताको सपथ अध्यक्षले खुवाउनु हुन्छ, आज बस्ने बैठकमा प्रस्तुत हुने एजेण्डा मध्ये सपथ खुवाउने एजेण्डा पनि राखिएको छ,’ उनले भने ।