नेपालगन्ज : विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय बाँकेले कार्यालयमा सेवाग्राही स्वागत, बृक्षारोपण तथा उत्कृष्ट काम गर्ने कर्मचारी सम्मान लगायतका कार्यक्रम गरेको छ ।
प्रथम आउने दुई जना सेवाग्राहीलाई अविर खादा सहित कार्यालय प्रमुख गोविन्दप्रसाद पाण्डे लगायतका कर्मचारीहरुले स्वागत गरे । त्यसैगरी जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी लगायत हुलाकका कर्मचारीले जिल्ला हुलाक कार्यालयको परिषरमा आँप, लिची, अम्वा, जामुनका साथै विभिन्न प्रकारका फूल रोपेका छन् ।
हुलाक कार्यालयका प्रमुख पाण्डेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति बाँकेका प्रमुख चौधरी, विशेष अतिथी बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य थिए ।
कार्यक्रममा प्रमुख अतिथी तथा विशेष अतिथीले जिल्ला हुलाक कार्यालय बाँके र मातहतमा रहेर उत्कृष्ठ काम गर्ने खरिदार कमलेशकुमार मौर्य, हल्कारा मन बस्नेत, हुलाकी महेशकुमार यादव, बनकटवाका हुलाक प्रतिनिधी इन्द्रा आचार्य, नौवस्ताका पत्र वितरक थापा तथा कम्दीका पत्र वितरक विष्णुप्रसाद कुर्मीलाई माला खादासहित सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले हुलाकलाई आधुनिकरण गर्नुपर्ने र अतिरिक्त हुलाकका कर्मचारीलाई उचित सेवा सुबिधा दिनुपर्ने बताए । विशेष अतिथी समेत रहेका प्रजिअ आचार्यले संसार भरका दुई सयभन्दा बढी देश सदस्य रहेको विश्व हुलाक संगठन भरपर्दो निकाय भएको बताए । अतिरिक्त हुलाक संघ बाँकेका सचिव जयपाल मौर्यले अतिरिक्त हुलाक खारेज नगरेर यसलाई थप काम दिएर सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा अध्यक्षता गरेका पाण्डेले नेपाल सरकारले हुलाकलाई पुर्नसंरचना गर्ने नीति लिएको जानकारी दिए । हाल हवाई दु्रत सेवा सञ्चालन गरेको, सञ्चार गृह तथा सञ्चारकर्मी सम्बन्धी दर्ता नविकरण, लोककल्याणकारी बिज्ञापन व्यवस्थापन, राहदानी ढुवानी लगायतका कामको सुरुवात गरेको उनले बताए । आगामी दिनमा इकमर्स, बिमा सेवाका साथै होम कलेक्सन र डेलीभरीको काम समेत गरेर अगाडी बढ्ने योजना रहेको प्रमुख पाण्डेले सुनाए ।
जिल्ला हुलाक कार्यालय बाँकेका नायब सुब्बा जंगवीर सुनारले सञ्चालन गरेको कार्यक्रममा नायब सुब्बा शान्ता शाही सिंहले स्वागत मन्तव्य ब्यक्त गरेकी थिइन् । कार्यक्रममा जिल्ला हुलाक कार्यालय बाँके, इलाका हुलाक कार्यालय तथा अतिरिक्त हुलाक कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।