नेपालगन्ज : पछिल्लो समयमा स्थानीय तथा राष्ट्रिय मिडियामा खुबै तातेको विषय हो, चेतन मानन्धर हत्या काण्ड । आठ वर्ष अघि नेपालगन्जमा दुई समुहको भिडन्तमा ज्यान गुमाएका मानन्धरको घटना प्रकरण अहिले निकै तातेको छ ।
कतिपयले मानन्धरको हत्या नेपालगन्जका योगराज ढकाल रिगलले गरेको आरोप लगाएका छन् । तर, घटनाका प्रत्यक्षदर्शीले मानन्धरमाथी आक्रमण हुँदा रिगल उक्त स्थानमा नभएको दाबी गरेका छन् । मृतक मानन्धरका साथीले नै उक्त घटना हुँदा घटनास्थलमा रिगल नभएको खुलासा गरेका हुन् ।
चेतनमाथी आक्रमण भएपछि उपचारको लागि नेपालगन्जस्थित नर्सिङ होममा लैजाने युवाले नै घटनालाई राजनीतिकरण गर्ने प्रयास गरिएको बताएका छन् । चेतनलाई घटना स्थलबाट उपचार गर्न लैजाने व्यक्ति हुन्, नेपालगन्ज–४ बसपार्कका हिमाल नकबाघ ।
घटनाका प्रत्यक्षदर्शी समेत रहेका उनले घटना हुँदा रिगल उक्त स्थानमा नभएको बताए । उनले भने, ‘घटना हुँदा म चेतन दाईको साथमा थिए, हाम्रो समुहलाई आक्रमण भएको थियो, तर त्यतिबेला रिगल दाई त्यहाँ थिएन् । राजनीतिक रुपमा रिगल दाईलाई फसाइएको हो, अहिले पनि फसाउने प्रयास गरिदैछ ।’
सडक निर्माणको ठेक्का र अन्य काममा आफनो बर्चस्व गुम्ने डरका कारण एमाले बाँकेका नेताहरुले रिगललाई फसाउन लगानी गरिरहेको उनले आरोप लगाए । नर्सिङ होममा चेतनको उपचारमा पनि लापरबाही भएको हिमालले खुलासा गरे ।
घटनाका प्रत्यक्षदर्शी समेत रहेका चेतनका साथी विनय तामाङले पनि आक्रमण हुँदा रिगल घटना स्थलमा नभएको बताए । चेतनालाई छबिलाल बस्नेतले आक्रमण गरेको बताउँदै बिनयले भने, ‘छबिलालको समुहले हामीमाथि आक्रमण गरेको हो, रिगल ढकालले होइन ।
अहिले जे–जति कुरा आएपनि रिगललाई उनका बिरोधीले फेरी फसाउन खोजेका छन् ।’ अर्का प्रत्यक्षदर्शी नेपालगन्ज धम्बोझीका बबी गुरुङले घटना हुँदा रिगलको त्यहाँ उपस्थिती नरहेको बताएका छन् । राजनीतिक प्रतिशोधका कारण ढकाललाई फसाउने काम भइरहेको भन्दैं गुरुङले आम जनतासमक्ष रिगल निर्दोश भएको बताए ।
नेपालगन्जको धम्बोझीमा २०७२ साल असार २८ गते बस समितिको विषयलाई लिएर विवाद भएको थियो । उक्त घटनामा मानन्धरको मृत्यु भएपछि ढकाललाई राजनीतिक प्रतिशोध साँध्नको लागि फसाइएको आरोप लगाइएको छ । आठ वर्षको जेल सजायपछि कैद मिनाह गरेर आएपछि ढकालको बारेमा सामाजिक सञ्जालमा विभिन्न नकारात्मक टिकाटिप्पणी आइरहेका छन् ।
चेतनकी पुर्वपत्नी भारतीले ढकाललाई सजाय हुनुपर्ने भन्दैं काठमाडौंमा प्रदर्शन गर्दै आएकी छिन् । दाङको घोराही कारागारमा रहँदा भारतीले आफुसँग ५० लाख रुपैयाँ मागेको ढकालले यसअघि नै खुलासा गरिसकेका छन् । आर्थिक प्रलोभन, उस्काहट र राजनीतिक प्रतिशोध साँध्नको लागि भारतीले बार्गेनिङ गरेको ढकालले आरोप लगाएका छन् ।
मानन्धरको मृत्यु भएपछि भारतीले निमा शेर्पासँग दोस्रो बिवाह गरेकी थिईन । आफु दाङ कारागारमै भएका बेला भारतीले छोराको नाममा बार्गेनिङ गरेको ढकालले बताएका छन् । तर आफुले छोराको सम्पुर्ण पढाई र उच्च शिक्षामा सहयोग गर्ने प्रतिबद्धता जनाएपनि ५० लाख भने दिन नसक्ने बताएको ढकालले बताए । यस्तै भारतीले पनि आफुप्रति लगाएका आरोपको खण्डन गर्दै आएकी छिन् ।