नेपालगन्ज : सिमा समस्या समाधानका लागि पहल गर्न माग गर्दै बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद डा.धवल शम्शेर राणालाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले बुधबार एक कार्यक्रमका बीच उक्त ध्यानाकर्षण पत्र बुझाएको हो ।
दशैं, तिहार, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको उपलक्ष्यमा संघले बुधबार नेपालगन्जमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा संघका अध्यक्ष टंकबहादुर धामीले कार्यक्रमका प्रमुख अतिथि राणालाई सीमा क्षेत्रको सुधारका लागि पहल गर्न आग्रह गर्दै ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए । सोही कार्यक्रममा संघले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) सुवासचन्द्र बोहरालाई पनि स्वागत गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी डा. राणा, विशिष्ट अतिथी एवम् लुम्बिनी प्रदेशका सांसद मीना श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट, नगर उपप्रमुख कमरुद्धिन राई, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल, नेपाल राष्ट्र बैंक, नेपालगन्जका उप-निर्देशक रामकुमार कार्की, नेपाल प्रहरीका बाँके प्रमुख एसपी सुवासचन्द्र बोहरा, एमाले बाँकेका अध्यक्ष किश्मतकुमार कक्षपति, काँग्रेसका जिल्ला सदस्य चक्र अधिकारी, ब्रह्मकुमारी दिदी मुना, संघका पूर्वअध्यक्षद्धय कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल बैश्यले बोलेका थिए ।
संघका अध्यक्ष टंकबहादुुर धामीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीको स्वागत मन्तव्य ब्यक्त गरेका थिए । यस्तै महिला उपाध्यक्ष मन्दिरा पाण्डेले धन्यवाद ज्ञापन गरेको कार्यक्रम सञ्चालन भने महासचिव भीमबहादुर रानाभाटले गरेका थिए ।