नेपालगन्ज : नेपाल राष्ट्र बैंकको नेपालगन्जस्थित प्रादेशिक कार्यालयमा दसैका लागि नयाँ नोट साट्ने सर्बसाधारण नागरिकको भिड लागेको छ । बैंकले गत सोमबारबाट सर्बसाधारणलाई नयाँ नोट साट्ने ब्यवस्था मिलाएको हो ।
राष्ट्र बैंक नेपालगन्जका निर्देशक गिरिजा प्रसाद कोइरालाले दसैका लागि नयाँ नोट लिन आउने सर्बसाधारण नागरिकको भिड लागेको बताए । ‘सर्बसाधारणको सहजताको लागि नगदसँगै क्युआर कोर्डमार्फत रकम साट्ने ब्यवस्था मिलाएका छौं,’ उनले भने ‘महिला, अशक्त, अपांगता, जेष्ठ नागरिकलाई छुट्टै लाइनको ब्यवस्था गरेर नोट दिएका छौं ।’
राष्ट्र बैंकले सर्बसाधारणलाई एक सय, पचास, बीस, दश र पाँच रुपैयाँका नोट गरी कुल १८ हजार ५ सय रुपैयाँ बराबर (एक सेट) नोट उपलब्ध गराएको छ । राष्ट्र बैंक नेपालगन्जमा बिहीबार बेलुकासम्म ८ हजार जना सर्बसाधारण नागरिकले नयाँ नोट साटेका छन् । यि मध्ये करिव २ हजार जनाले क्युआर कोर्डमार्फत रकम भुक्तानी गरेको पाइएको छ । यसका लागि करिव १५ करोड रुपैयाँ बराबरको नयाँ नोट साटिएको निर्देशक कोइरालाले जानकारी दिए ।
उनका अनुसार शुक्रबार पनि बिहानैदेखी धम्बोझीस्थित बैंकको कार्यालय परिसरमा सर्बसाधारण नागरिकको भिड लागेको थियो । शुक्रबार मध्यान्ह १२ः३० बजेसम्म बैंकभित्र प्रवेश गरेका सर्बसाधारणलाई नयाँ नोट दिइएको छ ।
विगतका वर्षभन्दा यसपटक क्युआर कोर्ड, महिला, अपांगता, अशक्त र जेष्ठ नागरिकको छुट्टै लाइनको ब्यवस्था गरिएकाले सर्बसाधारण नागरिकले सहज महसुस गरेको प्रतिक्रिया दिएका छन् ।