नेपालगन्ज : ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रीय कार्यालय नेपालगन्जले बाँकेमा सरुवा भएर आएका सुरक्षा निकायका प्रमुखलाई स्वागत तथा सम्मान गरेको छ ।
संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षतामा आयोजित कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख सुवासचन्द्र बोहरा, प्रहरीको विशेष सुरक्षा गण सुर्खेत हाल मुकाम नेपालगन्जका प्रहरी उपरीक्षक रामप्रसाद घर्ती, लुम्बिनी प्रदेशका प्रहरी उपरीक्षक माधव बुढाथोकीलाई स्वागत सम्मान गरिएको हो ।
प्रजिअ पोख्रेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । संस्थाले स्वागत तथा सम्मान गरेकोमा प्रमुख अतिथी, विशिष्ट अतिथिले शुभ विजया दशमी, तिहार र छठ पर्वको शुभकामना दिदै संस्थाले गरेको कार्यको सह्राना गरेका थिए ।
सो क्रममा प्रजिअ पोख्रेलले आध्यात्मलाई धर्मसँग मात्र जोड्न नहुने बताए । उनले भने, ‘आध्यात्म यस्तो सन्देश हो, सकारात्मक सोच भएका नागरिकको उत्पादन गर्नु, जसले आफुलाई चिनेर परिवर्तन गरेर मानवताका लागि गर्नुपर्ने कर्तव्य गर्न सिकाउँछ, आफूलाई बुद्ध जस्तो बन्ने प्रेरणा प्रदान गर्दछ, आहार र व्यवहार परिवर्तन भएमा सामाजिक सद्भाव शान्ति स्थापन गर्न गाह्रो हुदैन ।’
यस्तै प्रहरी प्रमुख बोहराले धर्म भनेको आफूले आफूलाई अनुशासित गर्ने माध्यम भएको बताए । नेपालगन्जको शान्ति सद्भावको इतिहास बोकेको शहरलाई कायम राख्नुपर्ने र यस कार्यमा संस्थाबाट दिने योग शान्ति सेवाका कार्यक्रममार्फत सहयोगको अपेक्षा गरेको बताए ।
कार्यक्रममा ब्रम्हकुमार कृष्ण बहादुर रानाभाटले स्वागतसहित कविता वाचन गरेका थिए । ऊक्त कार्यक्रम सञ्चालन उत्प्रेरक वक्ता राजयोग प्रशिक्षिका संस्थाका क्षेत्रीय उप-प्रमुख ब्रम्हाकुमारी मुनाले गरेकी थिइन् ।