नेपालगन्ज : हिन्दुहरुको महानपर्व बडा दसैंँको आज सातौं दिन । घर घरमा आज धुमधामका साथ फुलपाती भित्र्याइँदैछ । दसैंँमा फुलपाती शुभसाइतको प्रतीक मानिन्छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने प्रचलन रहेको छ ।
नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याएर शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ ।
केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिन्छ ।