नेपालगन्ज : आज कात्तिकाे ६ गते अर्थात् महानवमी। बडादसैंका मुख्य १० दिनमध्ये सबैलाई उत्तिकै पवित्र मानिन्छ। महाअष्टमीको भोलिपल्ट र विजया दशमीको अघिल्लो दिन पर्ने र नवरात्रिको अन्तिम दिनका रूपमा रहेको महानवमीमा शक्तिस्वरूपा भगवतीको पूजा, देवी महात्म्य पाठ र शक्तिपीठ दर्शन गर्ने प्रचलन छ।
नवरात्रभरिको महत्त्व आफ्नै भए पनि घटस्थापना, फूलपाती, महाअष्टमी, महानवमी र विजया दशमी चार दिनको महत्त्व अझ धेरै हुने गरेको धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराई बताउँछन्। केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्तीलाई फूलपाती वा नवपत्रिका भनिन्छ। यही फूलपातीका प्रत्येक पत्रमा एक–एक देवीको पूजा गर्ने चलन रहेको उनको भनाइ छ।
दसैं सुरु भएदेखि नै अर्थात् घटस्थापनादेखि अष्टमीसम्म विभिन्न पूजा गरिन्छ। तर महानवमी भनेको एक हिसाबबाट पूजा समाप्तीको दिन हो। त्यस दिन हवनहरू गरिन्छ। तर देवीको विसर्जन विजया दशमीकै दिनमा गरिन्छ। नवमीको दिनमा नौ पाठ, २७ पाठ वा १०८ पाठ गरेर विधिपूर्वक हवन गरिन्छ। साथै देवीको प्रतीकका रूपमा दुईदेखि १० वर्षका कन्या वा कुमारीहरूको पूजा गर्ने, राम्रा वस्त्र प्रदान गर्ने पनि गरिन्छ।
धर्मशास्त्रविद् भट्टराईका अनुसार नवरात्रिको नवौं दिनमा विशेषगरी सिद्धिदात्री देवीको पूजा आराधना गरिनुका साथै हवनका कृति र भीमसेनको पूजा गरिन्छ। सोही दिन गाडीहरू धोएर शुद्ध बनाई पूजा गर्ने पनि चलन छ। गाडीहरूलाई वाहन भनिने हुँदा त्यसले कीरा फट्यांग्रालाई किच्ने, सामान्य हिंसादेखि ठुला दुर्घटनासमेत हुन सक्ने हुँदा अनिष्ट नहोस् भनेर विश्वकर्मा देवको पूजा गरिन्छ। त्यो पूजा गरिसकेपछि नरिवलको बलि चढाइन्छ। महानवमीमा यिनै कार्य विशेष रूपमा गरिन्छ।
बलिको अर्थ त्याग हो। बलि दिनु भनेको त्यागिदिनु हो। काम, क्रोध, लोभ, मोह, मद, ईष्या, द्वेष, छलकपटलगायत १० प्रकारका विकार मानिसमा छन्। विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मदले चुर भएका हुन्छन्।
नवदुर्गाका प्रसाद खाई यी अवगुणहरू हटून्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव राखिने भट्टराई बताउँछन्। उनका अनुसार कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मदको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ।