कोहलपुर : ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप’ को तयारी तीब्र पारिएको छ । कोहलपुर रेसिङ साहारा क्लब बाँकेको आयोजनामा यही कात्तिक १५ गतेदेखी गोल्डकप सुरु गर्न लागिएको हो ।
कोहलपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक पक्षले गोल्डकपको आवश्यक तयारी भइरहेको जानकारी दियो । क्लबका अध्यक्ष चक्र क्षेत्रीका अनुसार गोल्ड कपको विजेता टिमले नगद ८ लाख र तथा उपविजेताले नगद ४ लाख प्राप्त गर्नेछन् । गोल्डकपको तयारी तीब्र पारिएको उनले बताए ।
गतवर्ष पहिलो पटक आयोजना गरिएको कोहलपुर गोल्डकपको उपाधी एफसी क्लब क्यामरुनले हात पारेको थियो । ब्वाईज युनियन क्लब काठमाण्डौंलाई पराजित गरेको एफसीले नगद ७ लाख प्राप्त गरेको थियो । ‘नकआउट’ प्रणालीका आधारमा खेलाइने उक्त प्रतियोगितामा आयोजक टिमसहित स्वदेशी र विदेशी गरी ८ वटा टिम सहभागि हुने अध्यक्ष क्षेत्रीले जानकारी दिए ।
‘गोल्डकप खेल्न विदेशी टिम कोहलपुरका लागि हिडिसकेको छ,’ उनले भने ‘यस वर्षको खेल अझ हेर्न लायक हुनेछ, खेल अवलोकन गर्न आउने दर्शकहरुसँग केही शुल्क समेत लिने निर्णय गरेका छौं ।’ आगामी कात्तिक २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने निश्चित भएको आयोजकले जनाएको छ ।
गोल्डकपको माध्यममार्फत यसक्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने आयोजकको विश्वास छ । गोल्डकप खेल्न आउने स्वदेशी र विदेशी खेलाडीलाई बाँके राष्ट्रिय निकुञ्ज, प्रशिद्ध शक्तीपीठ बागेश्वरी मन्दिर लगायत बाँकेको पर्यटकीय क्षेत्रको अवलोकन गराउने क्लबका अध्यक्ष क्षेत्रीले सुनाए । गोल्डकप सञ्चालन गर्नका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय लुम्बिनी प्रदेश, कोहलपुर नगरपालिका, नेपाल टेलिकम लगायतले सहकार्य गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालन गर्नका लागि स्थानीय स्तरबाट पनि स्वतःस्र्फुत रुपमा सहयोग प्राप्त भएको आयोजकको भनाई छ । ‘गतवर्षको कमीकमजोरी तथा चुनौतीलाई सुधार गरेर हामीले यसवर्ष ब्यवस्थापनमा विशेष ध्यान दिएका छौं,’ अध्यक्ष क्षेत्रीले भने ।
पत्रकार सम्मेलनमा गोल्डकपको ‘टिसर्ट’ समेत सार्वजनिक गरिएको थियोे । पत्रकार सम्मेलनमा उपस्थित भएका बाँकेस्थित सम्बद्ध सरोकारवालाले आवश्यक सुझावसहित गोल्डकप सफलताको शुभकामना दिएका थिए ।