कपिलबस्तु : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएपछि लुम्बिनी क्षेत्रका पर्यटन ब्यवसायी उत्साहित भएका छन् । उनको भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचार प्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
विश्वमा शान्ति स्थापनामा विशेष भूमिका खेल्दै आएको विश्व संस्था संयुक्त राष्ट्रसंघका महासचिवले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएपछि लुम्बिनी क्षेत्रका बासिन्दा समेत उत्साहित भएका छन् ।
महासचिव गुटेरेस मंगलबार बिहान करिब ९ बजे लुम्बिनी आइपुग्ने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनी विकास कोषले महासचिव गुटेरेस हिँड्ने सडकलाई कालोपत्र गर्नेदेखि सरसफाइलाई विशेष ध्यान दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित लुम्बिनी आउन लागेका महासचिव गुटेरेसको स्वागतका लागि सरसफाइ, सौन्दयीकरणदेखि सुरक्षासम्मको तयारी अन्तिम चरणमा पुगेको विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले जानकारी दिए ।
महासचिव गुटेरेसको भ्रमणलाई स्मरणीय बनाउन लुम्बिनी विकास कोषसहित रुपन्देहीका सुरक्षा निकाय, स्थानीय प्रशासन तथा स्थानीय तहका पदाधिकारीले आपसी समन्वयमा तयारी गरिरहेका छन् । उपाध्यक्ष लामाले महासचिव गुटेरेसको स्वागत र सम्मानमा कुनै कमी नआउने बताए ।
राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण हुँदा सबै महासचिव लुम्बिनी आउने प्रचलन रहँदै आएको छु,’ उनले भने, ‘नेपालका प्रधानमन्त्रीले लुम्बिनीमा आएर महासचिवलाई स्वागत गर्न लागेको यो पहिलो हो, त्यसैले पनि यो भ्रमणलाई विशेष महत्त्व दिएर हामीले हाम्रोतर्फबाट सबै तयारी गरिरहेका छौँ ।’