काठमाडौं : संघीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा मंगलबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने भएका छन् । अपरान्ह ४ बजे बोलाइएको संयुक्त बैठकमा महासचिव गुटेरेसको सम्बोधन गर्ने कार्यक्रम भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
गुटेरेसको संयुक्त सम्बोधन तयारीबारे सभामुख घिमिरेले संसद् सचिवालयसँग जानकारी लिएका छन् ।सभामुखले सोमबार बेलुका संयुक्त सदनको बैठक (प्रतिनिधि सभा) कक्षको व्यवस्थापकीय र प्राविधिक पक्षको निरीक्षण गरेका थिए । सभामुखले संसद् सचिवालयका महासचिव लगायत उच्च अधिकारीलाई व्यवस्थापन पक्षलाई त्रुटीरहित सम्पन्न गर्न निर्देशन दिएको सभामुखको सचिवालयले जनाएको छ ।
गुटेरेसले सम्बोधन गर्ने समयमा उपस्थित हुन संवैधानिक निकायका पदाधिकारी, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र रजिस्ट्रार, न्याय परिषद् सचिवालयका सचिव, महान्यायाधिवक्ता र नायब महान्यायाधिवक्ता, विभिन्न मन्त्रालयका सचिव, राष्ट्रपति कार्यालयका सचिव, उपराष्ट्रपति कार्यालयका सचिव, महालेखा परीक्षकको कार्यालय र महालेखा नियन्त्रक कार्यालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, भाषा आयोगका पदाधिकारीलाई निमन्त्रणा गरिएको छ ।
यसैगरी नेपाल कानुन आयोगका पदाधिकारी, सत्यनिरूपण तथा मेलमिलाप आयोगका सचिव, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव, प्रधानसेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि लगायतलाई पनि निमन्त्रणा गरिएको छ ।