कोहलपुर : कोहलपुरमा हुन लागेको मुख्यमन्त्री कोहलपुर गोल्ड कपको तयारी पुरा भएको छ । गोल्डकपको कार्यक्रमका प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्न लागेका हुन् ।
कोहलपुर रेसिङ साहारा क्लब बाँकेको आयोजनामा बुधबारदेखी सुरु हुने गोल्डकप यही कात्तिक २२ गते सम्म सञ्चालन हुनेछ । आयोजकका अनुसार अनुसार गोल्ड कपको विजेता टिमले नगद ८ लाख र तथा उपविजेताले नगद ४ लाख प्राप्त गर्नेछन् ।
गतवर्ष पहिलो पटक आयोजना गरिएको कोहलपुर गोल्डकपको उपाधी एफसी क्लब क्यामरुनले हात पारेको थियो । ब्वाईज युनियन क्लब काठमाण्डौंलाई पराजित गरेको एफसीले नगद ७ लाख प्राप्त गरेको थियो । ‘नकआउट’ प्रणालीका आधारमा खेलाइने उक्त प्रतियोगितामा आयोजक टिमसहित स्वदेशी र विदेशी गरी ८ वटा टिम सहभागि हुनेछन् ।
उद्घाटन खेल बुधबार आयोजक कोहलपुर रेसिङ्ग सहारा क्लब कोहलपुर र चर्च ब्वाईज युनाईटेड काठमाडौं बीच दिउँसोे २ बजे हुनेछ । खेल संयोजक मल्लले करिव ३ हजार क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको बताए ।
गोल्डकप उद्घाटनको पुर्वसन्ध्यामा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रसाद भट्टराई लगायतले स्थलगत निरीक्षण गरेका थिए । सो क्रममा उनले गोल्डकपको नियमनसँगै प्रदेश खेलकुद परिषदले आवश्यक सहयोग गरेको बताए ।
त्यस क्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य एलबी क्षेत्री, लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य नरेन्द्र थापा, राष्ट्रिय म्याच कमिस्नर दयाराम सापकोटा, कोहलपुर नगरपालिकास्थित विभिन्न वडाका वडाअध्यक्ष, खेल प्रशिक्षक, खेलाडी लगायतको सहभागिता रहेको थियो ।