कोहलपुर : कोहलपुर नगरपालिका-२ स्थित तेह्र विघामा आज (बुधबार) देखि हुन लागेको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता-२०८०’ को उद्घाटन खेलमा आयोजक रेसिङ साहारा क्लब र चर्च व्वाईज बीच हुने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारासहित आगामी कात्तिक २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेल आयोजक र चर्च व्वाईज बीच हुने खेल संयोजक रामबहादुर मल्लले जानकारी दिए । उनका अनुसार उद्घाटन खेल करिव २ बजेबाट सुरु हुनेछ ।
त्यसअघि बिहान ११ बजे लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतियोगिता उद्घाटन गर्नेछन् । प्रतियोगितामा अफ्रिकन राष्ट्र क्यामरुन, विभागिय क्लब सहित ए डिभिजनका ८ वटा क्लब सहभागी हुनेछन् ।
जसमा चर्च व्वाईज यूनाईटेड काठमाण्डौं, गोर्खा व्वाईज स्पोर्टस क्लब बुटवल, सुदुरपश्चिम–११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, एभिनियर एफ.सि. क्यामरुन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ वटा टिम सहभागी हुनेछन् ।
प्रतियोगिताका विजेतालाई ८ लाख र उपविजेतालाई ४ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा अस्थायी घुम्ति शौचालय, पिउने पानी, बृद्ध तथा अपांगताहरुको लागि छुट्टै बसाई व्यवस्थापन गरिएको र प्रत्येक खेलाडीका लागि ५ लाख बराबरको बिमा पनि गरिएको क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए ।
करिव ३ हजार दर्शकले खेल अवलोकन गर्न मिल्ने गरी अस्थायी प्यारापिट निर्माण गरिएको छ, भने ग्राउण्डमा पनि करिव ५ हजारदेखि ८ हजारसम्म दर्शकले गोल्ड कप अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको फिल्ड तथा मञ्च व्यवस्थापन समिति संयोजक इन्द्र गुरुङले बताए ।
यस्तै फुटबल अवलोकनका लागि प्यारापिटमा बसेर हेर्नका लागि १ सय रुपैयाँ र ग्राउण्डमा बसेर हेर्नका लागि ५० रुपैयाँ टिकट काट्नुपर्नेछ । यसका लागि दुई वटा टिकट काउन्टरको व्यवस्था गरिएको टिकट व्यवस्थापन समितिका संयोजक सन्तोष मल्ले जानकारी दिए ।
यसैगरी गोल्डकप सञ्चालन अवधिभर सुरक्षा व्यवस्थाका लागि ५० जना सेक्यूरेटी गार्डको व्यवस्था मिलाइएको छ भने ५० जना स्वयं सेवकको पनि व्यवस्था मिलाइएको सुरक्षा व्यवस्थापन समिति संयोजक यमबहादुर गैरेले जानकारी दिए ।