नेपालगन्ज : नेपाल रेडक्रस सोसाइटी बाँकेले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रबाट वार्षिक १५ हजार युनिट रगत संकलन तथा आपूर्ति हुने गरेको छ । २०३३ सालमा स्थापनाको पहिलो वर्ष ७ युनिट मात्र रगत संकलन एवम् आपूर्ति भएकोमा झण्डै ४५ वर्षपछि यतिधेरै परिमाणको रगत संकलन भएको हो ।
केन्द्रसँग संस्थागत र ब्यक्तिगत गरी करिव ८ हजार स्वयंसेवी रक्तदाता आवद्ध छन् । रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी रक्तसञ्चार केन्द्रले बिरामीलाई सहज रुपमा रगत उपलब्ध गराउँदै आएको बताउँछन् । ‘यस रक्तसञ्चार केन्द्रले बाँकेमा मात्र होइन, कर्णाली प्रदेश, काठमाडौं र छिमेकी देश भारतका विभिन्न अस्पतालमा समेत बिरामीका लागि रगत उपलब्ध गराउँदै आएको छ,’ उनले भने ‘२०७२ सालको भुकम्पका बेला त काठमाडौंमा झण्डै ४ सय युनिट रगत पठाएका थियौं, त्यो बेला धेरै घाइतेको ज्यान बचेको थियो ।’
केन्द्रका अनुसार पछिल्लो १४ वर्षको सेवा बृद्धिलाई हेर्दा वार्षिक न्यूनतम २.२९ र बढीमा १४.५३ प्रतिशत सेवा प्रवाह र स्वयंसेवी रक्तदाता बढिरहेका छन् । बाँके, रक्तसञ्चार सेवामा मात्रै १७ जना कर्मचारी कार्यरत छन् । रक्तसञ्चार सेवा सञ्चालन र ब्यवस्थापन गर्नका लागि कुनैपनि दातृ संस्था र सरकारबाट स्रोत नपाएको रेडक्रस बाँकेका सभापति गोर्वद्धनसिंह सम्झनाले बताए ।
‘रगत संकलन र आपूर्तिको आधारमा रक्तपरीक्षण केमिकल्स, रक्त झोला, ट्रान्सफ्यूजन सेट, सञ्चालन खर्च तथा प्राविधिक एवम् प्रशासनिक कर्मचारी ब्यवस्था सम्बन्धित शाखाले नै गर्नुपर्दछ,’ उनले भने । दिनरात बिरामीको सेवामा सर्मपित संस्थालाई भेरी अस्पताल विकास समितिले विस्थापित गराउन खोजेको रेडक्रसका पदाधिकारीको जिकिर छ । ‘मानविय सेवामा सर्मपित संस्था हो रेडक्रस,’ एक पदाधिकारीले भने ‘रेडक्रसले प्रदान प्रदान गर्ने सेवाको महत्व नबुझ्नेले यस्तो पवित्र संस्थालाई विस्थापित गर्न खोजेका हुन् ।’
रक्तसञ्चार केन्द्रले ४ प्रकारका रक्ततत्व सेवा (होल ब्लड, पिआरपी, एफएफपी र पिसिभी) उपलब्ध गराउँदै आएको छ । यस बाहेक रक्तदाता परामर्श र उत्प्रेरणा पनि केन्द्रका नियमित गतिबिधि हुन ।
विपद् तथा दुर्घटनाबाट हुने घाईते, सुरक्षित मातृत्व, विभिन्न किसिमका शल्यक्रिया, रक्तअल्पता जस्ता समस्या भएका ब्यक्तिलाई केन्द्रले रगत उपलब्ध गराउँछ । ‘प्रयोगशाला कोठाको अभाव रहदा रहदै पनि अहिलेसम्म जेनतेन काम चलिरहेको छ,’ केन्द्र प्रमुख रेग्मीले भने ‘केन्द्रको पुर्वपट्टी रहेका सटर भाडामा छन्, सटरको दोस्रो तल्लामा रक्तसञ्चार केन्द्रकै सामान राखिएको छ ।’
२०२३ सालदेखि केन्द्रीय स्तरमा रेडक्रस स्थापना भएपछि त्यसको ठिक १० वर्षपछि २०३३ सालबाट बाँकेमा रक्तसञ्चार सेवा निरन्तर सञ्चालन हुँदै आएको छ । २०४८ सालमा तत्कालिन मन्त्री परिषदको निर्णयबाट देशभर रक्तसञ्चार सेवा सञ्चालन र ब्यवस्थापनका लागि नेपाल रेडक्रसलाई जिम्मा दिइएको थियो । हाल बाँकेसहित देशभर ७३ जिल्लाका १ सय १७ स्थानबाट रक्तसञ्चार सेवा रेडक्रसले प्रदान गर्दै आएको छ ।
‘सेवाग्राहीबाट प्रति युनिट १ हजार सेवा शुल्क लिइरहेका छौं, तर यसको वास्तविक खर्च १ हजार ४ सय भन्दा बढी हुन जान्छ,’ सभापति सम्झनाले भने ‘नपुग स्रोतको ब्यवस्था रक्तसञ्चार केन्द्रको पूर्वतर्पm रहेको रेडक्रसकै भोगाधिकार स्वामित्वको भवनको पहिलो तला स्वयं रक्तसञ्चार सेवा केन्द्रको लागि प्रयोग भइरहेको छ र भूइँतलाका सटर वहालमा दिएर त्यसबाट प्राप्त हुने रकमबाट ब्यवस्थापन गरिएको छ ।’
भाडामा दिएका सटरबाट वार्षिक १२ लाख ७२ हजार बराबरको रकम प्राप्त भइरहेको र सोही रकम रक्तसञ्चार सेवाको ब्यवस्थापनमा प्रयोग भएको रेडक्रस बाँकेले जनाएको छ ।
यो पनि पढ्नुस् :
यसरी बढ्यो भेरी अस्पताल र रेडक्रस तथा चिकित्सक संघबीच विवाद
शुभकामना बडादसैँको - भिडियो