नेपालगन्ज : नेपाली काँग्रेस निकट नेपाल साँस्कृतिक महासंघ बाँकेको तेस्रो जिल्ला अधिवेशन मंसिरमा हुने भएको छ । नेपालगन्जमा बुधबार बसेको महासंघको अधिवेशन तयारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कोहलपुरमा अधिवेशन गर्न विभिन्न जिम्मेवारीसहित संयोजक तोकेको छ ।
आगामी मंसिर १६ गते हुने अधिवेशनको तयारी तीब्र रुपमा अगाडी बढाउने बैठकले निर्णय पनि गरेको छ । महासंघका जिल्ला सभापति सन्तोषराज पौडेलेको सभापतित्वमा सम्पन्न बैठकले अधिवेशनलाई भव्य र सभ्य बनाउने निर्णय गरेको छ ।
अधिवेशनलाई भव्य र सभ्य बनाउनका लागि आफुहरु तयारी अवस्थामा रहेको उनले बताए । ‘स्थानीय तहको अधिवेशन गर्नुपर्ने भएकाले जिल्ला अधिवेशन गर्नका लागि केही ढिलाई भएको हो, तर अन्य जिल्ला भन्दा हामी अगाडी नै छौं, यो खुशीको कुरा हो,’ सभापति पौडेलले भने ।
महासंघ बाँकेका संस्थापक सभापति बीरेन्द्र यादवले अधिवेशनलाई एउटा पर्वका रुपमा लिएको हुँदा सबैमा जोश जाँगर देखिएको बताए । उक्त बैठकले जिल्ला सभापति पौडेलको संयोजकत्व मुल तयारी समिति गठन गरेको सह-सचिव शिवध्वज शाहीले जानकारी दिएका छन् । उनका अनुसार कोषाध्यक्ष पुष्पराज आचार्यको संयोजकत्वमा मञ्च व्यवस्थापन, सदस्य इन्द्र थापाको संयोजकत्वमा कलाकार व्यवस्थापन लगायत समिति गठन गरिएको बताइएको छ ।
बैठकमा महासंघका केन्द्रिय सह-महासचिव जिनु हक, महासंघ नेपालगन्ज उपमहानगरपालिका सभापति टिना केसी, कोहलपुर नगरपालिकाका सभापति मञ्जु भण्डारी, राप्ती सोनारी गाउँपालिका सभापति जितेन्द्र सोनिकार, खजुरा गाउँपालिका सभापति सृजना सिंह ठकुरी, बैजनाथकी सभापति सुनिता दहित, डुडुवा गाउँपालिका सभापति सुनिता सिंह ठकुरी, जानकी गाउँपालिका सभापति इन्द्र के.सी. लगायतको उपस्थिती रहेको थियो । बैठकमा महासंघ बाँकेका कोषाध्यक्ष आचार्यले स्वागत गरेका थिए, भने सहजीकरण सहसचिव शाहीले गरेका थिए ।