कोहलपुर : कोहलपुरमा सुरु भएको मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता अन्तर्गत आज (बिहीबार) 'गोर्खा व्वाईज स्पोर्ट्स क्लब' बुटवल र 'सुदूरपश्चिम-११ स्पोर्ट्स क्लब' धनगढी भिड्ने भएका छन ।
रेसिङ सहारा क्लब कोहलपुरले आयोजना गरेको उक्त प्रतियोगिताका खेल दिउँसो ठिक ३ बजेबाट सुरु हुने आयोजक संस्थाका अध्यक्ष चक्र क्षेत्रीले दूरसन्चार डटकमलाई जानकारी दिए । कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित तेह्र विघा मैदानमा उक्त प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुधबारउद्घाटन गरेका थिए।
उद्घाटन खेलमा आयोजक रेसिङ सहारा क्लब कोहलपुर बाहिरिएको थियो। ‘ए.पी.पावर चर्च व्वाईज यूनाईटेड’ काठमाडौंले उद्घाटन खेलमा विजयी सुरुवात गर्यो ।
प्रतियोगिता ‘नकआउट’ प्रणालीका आधारमा खेलाइएको छ। ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारासहित सञ्चालन भएको प्रतियोगिता यही कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । विदेशी, विभागीय क्लबसहित ८ वटा क्लब सहभागी भएका छन्।
उक्त प्रतियोगिताका विजेतालाई ८ लाख र उपविजेतालाई ४ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक रामबहादुर मल्लले जानकारी दिए । फुटबल अवलोकनका लागि अस्थायी प्यारापिट र टिनको अस्थायी पर्खाल निर्माण गरिएको छ।
खेल अवलोकन गर्ने दर्शकका लागि आयोजकले यसपटक भने टिकट व्यवस्था गरिएको छ। उद्घाटन खेल निशुल्क अवलोकन गराइएकोमा आजदेखि टिकट काटेर शुल्क लिइने आयोजकले जनाएको छ ।
गतवर्ष पहिलो पटक आयोजना गरिएको गोल्ड कपको उपाधी 'एफसी क्लब क्यामरुन' ले हात पारेको थियो । ब्वाईज युनियन क्लब काठमाण्डौंलाई पराजित गरेको एफसीले नगद ७ लाख प्राप्त गरेको थियो ।