नेपालगन्ज : धारा नेपालगन्ज म्याराथनको नवौं संस्करणमा पुरस्कार राशीमा वृद्धि हुने भएको छ । आगामी मंसिर ९ गते उक्त म्याराथन गर्ने तयारी भइरहेको छ । म्याराथनको तयारीबारे जानकारी दिन बिहीबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था क्रियटिभ ह्याण्ड्स जानकारी दिएको हो ।
म्याराथनमा नगद पुरस्कार सम्बन्धि विस्तृत जानकारी चाँडै सार्वजनिक गरिने क्रियटिभ ह्याण्ड्सका संस्थापक अध्यक्ष टीएस ठकुरीले बताए । म्याराथनका लागि केही सरप्राइज प्याकेज पनि घोषणा गर्नेछौं,’ उनले भने ‘अझै केही नयाँ गर्ने प्रयत्न हामीले गरिरहेका छौं, यो लुम्बिनी प्रदेशको मुख्य इभेन्ट हो ।’
नेपाल सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्धन्द्ध विधिवत अन्त्य गर्ने गरी भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा विगत ९ वर्षदेखी निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुदै आएको छ । म्याराथनका लागि गत भदौं १ गतेदेखी नै खेलाडी दर्ता खुला गरिएको अध्यक्ष ठकुरीले बताए ।
‘यसवर्ष अघिल्लो वर्षमा चार विधा थप गरी बिभिन्न १४ वटा विधामा स्पर्धा समावेश भएको छ,’ उनले भने ‘स्कुल स्तरीयमा बाह्य जिल्ला र स्कुलस्तरीय दौडमा पनि कक्षा ६ देखी कक्षा ८ तथा ९ देखी १२ सम्मको अलग अलग स्पर्धा गराइनेछ ।’
पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले नेपालगन्ज म्याराथन र लुम्बिनी म्याराथनलाई प्रदेश खेलकुद परिषदले विशेष सम्पत्तीका रुपमा लिएको बताए । ‘प्रदेश खेलकुद परिषदले यि दुई म्याराथनलाई आफ्नो विशेष सम्पत्तीको रुपमा लिएको छ, यहाँहरुलाई खेलकुद परिषदले इम्पावर गर्छ, भने अर्कोतर्फ नियमन पनि गर्नेछ,’ उनले भने ।
यस्तै मुख्य प्रायोजक केएल दुगड गु्रपका प्रबन्ध निर्देशक प्रदिप छाजेडले धारा नेपालगन्ज म्याराथन उचाई पुग्नमा सबै नेपालगन्जबासीको योगदान रहेको बताए । विगतका संस्करणमा त्रुटी भए सुधारेर अगाडी जानुपर्ने उनले सुझाव दिए ।
आयोजकका अनुसार प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन(२१ किमी), १० किमी पुरुष÷महिला खुल्ला, ५ किमी स्कुल स्तरीय छात्र एवं छात्रा, किड्स रन (८ देखी १२ वर्ष उमेर समुह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ ।
यसैगरी स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिने बताइएको छ । बाँके जिल्लाका हकमा कक्षा ६ देखी ८ तथा ९ देखी १२ सम्मको अलग अलग दौड(१५ किमी) सञ्चालन गरिने आयोजकले जनाएको छ ।
म्याराथनको स्टार्ट÷फिनिसिङ गेट नेपालगन्ज उपमहानगरपालिका कार्यालय अगाडी रहनेछ । त्यहाँबाट सुरु भइ कोहलपुर नगरपालिका देखी चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भई सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पुरा हुने बताइएको छ ।
म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । त्यसैगरी दोस्रो संकरणमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्ला निवासी भारतीय गोर्खा सैनिकमा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैठौंमा नेपाल एपिएफ क्लबका गोपिचन्द्र पार्की, सातौंमा एपिएफकै किरणसिंह बोगटी र आठौंमा सेनाका खड्कबहादुर खड्का विजेता बनेका थिए । महिला हाफ म्याराथनतर्फ सातौं र आठौं संस्करणमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन् ।
त्यसैगरी पहिलोमा एपिएफका कृष्णेश्वरी सिन्तकला, दोस्रोमा एपिएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपिएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने र छैटौंमा एपिएफकी पुष्पा भण्डारी विजेता भएका थिए ।