नेपालगन्ज : 'रिगल' भनिने योगराज ढकाललाई नेपालगन्ज कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार बिहान साढे १० बजेतिर बाँके जिल्ला अदालत समक्ष बुझाएको थियो ।
जिल्ला प्रहरी प्रवक्ता (डिएसपी) नारायण डाँगीका अनुसार रिगललाई शुक्रबार बिहान साढे १० बजेतिर बुझाइएको हो । त्यस लगतै उनलाई अदालतले नेपालगन्ज कारागार चलान गरेको थियो ।
बाँके जिल्ला अदालतका श्रेस्तेदार सरोज निधि वाग्लेले रिगललाई शुक्रबार बिहान पौने ११ बजेतिर नेपालगन्ज कारागार कार्यालयमा पठाइएको जानकारी दिए ।
सुरु बाँके जिल्ला अदालतले गरेको फैसला अनुसार नेपालगन्ज कारागार पठाइएको उनले बताए । ' हामीले उहाँलाई नेपालगन्ज कारागारमा पठाएका छौँ, कारागार ब्यवस्थापन विभागले कसरी र कहाँ ब्यवस्थापन गर्छ, त्यो उहाँहरुले गर्नुहुन्छ,' वाग्लेले भने ।
रिगलको कैद मिनाहालाई सर्बोच्च अदालतले बिहीबार बदर गरेको थियोे। कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बिहीबार रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको थियो। अदालतको आदेश लगत्तै उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।
नेपालगन्ज निवासी चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट बाँकी कैद माफी पाएका थिए। बाँकी कैद माफी पाएर ढकाल संविधान दिवसका दिन छुटेका थिए ।
त्यस निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन । कैद मिनाहा विरुद्ध उनी काठमाडौको माइतीघर मण्डलामा धर्ना बसेकी थिइन ।