नेपालगन्ज : जाजरकोटलाई केन्द्रविन्दू बनाएर आएको भूकम्पमा परी घाइते भएकाको उपचार ब्यवस्था मिलाउन भेरी अस्पतालले आवश्यक तयारी गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाह, अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. पवनजंग रायमाझी, चिकित्सक, स्वास्थ्यकर्मी, नर्स सहितको टोलीले बिहान जाजरकोट र रुकुम पश्चिमबाट उपचारका लागि आउने बिरामीको ब्यबस्थाप गरेको हो ।
समितिका अध्यक्ष शाहले अस्पतालको नयाँ भवनको भुँईतलामा भुकम्पबाट घाइते बिरामीलाई उपचार गर्न आवश्यकता अनुसार बेड तयारी अवस्थामा राखिएको बताए । जाजरकोट र रुकुम पश्चिममा अहिलेसम्म ७३ जनाले ज्यान गुमाएका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भिम ढकालले थप शव फेला परेको जानकारी दिदै शनिबार बिहान ७ बजेसम्म ७३ जनाको मृत्यु भएको र १ सय ८ जना घाइते भएको बताए ।
‘अहिलेसम्म ७३ जनाको मृत्यु हुनुका साथै १ सय ८ जना घाइते भएको जानकारी आएको छ,’ ढकालले भने, ‘उद्दारका लागि प्रहरी खटिरहेको छ, मृतक र घाइतेको संख्या बढ्न सक्छ ।’ जाजरकोटलाई केन्द्रबिन्दु पारेर शुक्रबार मध्यराती भूकम्प गएको थियोे ।
सो भूकम्प नेपालगन्ज लगायत देशैभरका विभिन्न जिल्लामा महसुस भएको थियो। राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।