नेपालगन्ज : जाजरकोट भूकम्पमा परी घाइते भएका मध्ये ३२ जनालाई बाँकेमा ल्याएर उपचार गरिएको छ । जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका अनुसार शनिबार बेलुकासम्म भेरी अस्पतालमा ३१ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १ जनाको उपचार भइरहेको छ ।
उपचार गराइरहेका घाइतेहरुमा जाजरकोटका २१ जना, रुकुम पश्चिमका ९ र बाँके तथा सल्यानका १÷१ जना रहेका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको र अन्य ३० जनाको अवस्था सामान्य रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उपचारका लागि नेपालगन्ज ल्याउँदै गर्दा जाजरकोट निवासी ३३ वर्षिय टेकबहादुर पुनको शनिबार दिउँसो बाटोमै मृत्यु भएको थियो । जाजरकोटबाट उपचारका लागि हेलिकप्टरमार्फत भेरी अस्पतालमा ल्याउने क्रममा बाटोमा ज्यान गुमाएका पुनको शवको पोस्टमार्टम गरिएको उनले जानकारी दिए ।
श्रेष्ठका अनुसार मृतकको शवलाई आफन्तसँग आइतबार (भोली) बिहान ७ बजेतिर नलगाड-१ जाजरकोट पुर्याउने ब्यबस्था मिलाइएको छ । शव पुर्याउनका लागि नेपालगन्ज उद्योग बाणिज्य संघले निःशुल्क गाडी ब्यवस्थापन गरिदिएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेले जनाएको छ ।
केन्द्रका फोकल पर्सन श्रेष्ठका अनुसार १६ जना पुरुष र १६ जना महिलाको बाँकेमा उपचार भइरहेको छ । त्यसमध्ये ९ जना बालबालिका, ५ जना जेष्ठ नागरिक र एक जना गर्भवती महिला रहेका छन् । घाइतेको उपचार सहज बनाउन अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी खटिएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भुकम्पका घाइते ८० जना सम्मलाई तत्कालका लागि भेरी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ । यस्तै नेपाली सेनाको अस्पतालमा २० र नेपाल प्रहरी अस्पतालमा ५ गरि कुल १ सय ५ जनाको लागि बेड छुट्याइएको उनले बताए । थप घाइते आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपालगन्जका अन्य अस्पताललाई पनि विकल्पका रुपमा राखिएको प्रजिअ पोखरेलले सुनाए ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुर, वेष्टर्न अस्पताल लगायत अन्य अस्पताललाई पनि विकल्पका रूपमा तयारी अवस्थामा राखिएको उनले बताए । घाइतेलाई नेपाल एयरलाइन्सको जहाज, नेपाली सेनाको हेलिकप्टर तथा एम्बुलेन्समार्फत नेपालगन्ज ल्याइएको हो ।