नेपालगन्ज : भूकम्प पीडित घाइतेको उपचार ब्यवस्थापनमा भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाह दिनरात खटिएका छन् । सरकारले भेरी अस्पताललाई भूकम्प पीडितको उपचार गर्ने ‘डेडिकेटेड’ अस्पतालका रुपमा तोकेपछि घाइतेको उपचार ब्यवस्थापनमा उनी सुरुदेखी नै सक्रियता पूर्वक लागेका हुन् ।
भेरी अस्पतालमा अध्यक्ष शाह एकाबिहानै आउँछन्, भने राती अबेरसम्म पनि खटिन्छन् । अध्यक्ष शाह घाइतेको उपचार ब्यवस्थापनमा निरन्तर लागिरहेको यहाँका कर्मचारीहरु बताउँछन् । ‘हाम्रो अस्पतालका अध्यक्ष ज्यु एकाबिहानै अस्पतालमा आउनुहुन्छ, राती अबेरसम्म पनि अस्पतालमै बसेर भूकम्पका घाइतेको अवस्थाबारे जानकारी लिइरहनु हुन्छ, उहाँको सक्रियताले गर्दा हामीलाई पनि जोश जाँगर बढाएको छ,’ एक कर्मचारीले भने ।
अध्यक्ष शाह दैनिक रुपमा भेरी अस्पतालमा खटिएर भूकम्पका घाइतेको उपचार ब्यवस्थापन गर्ने, बिरामी कुरुवाका समस्या बुझ्ने र कुरुवालाई भेटेर घाइतेको अवस्थाबारे सबै जानकारी लिई आवश्यक ब्यवस्थापन गर्ने काममा लाग्छन् ।
घाइतेको उपचारमा कुनै कमी हुन नदिन र अस्पतालबाट गुणस्तरीय सेवा उपलब्ध गराउन उपचारमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सहजीकरण गरिरहेका छन् । विकास समितिका अध्यक्ष शाहको सक्रियताले आफुहरुलाई काम गर्ने मनोबल बढेको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी बताउँछन् ।
जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले भेरी अस्पतालका अध्यक्ष शाहको सक्रिता देखेर आफुहरुको पनि मनोबल बढेको बताए । 'उहाँको सक्रियता धेरै छ, घाइतेको अवस्थाको बारेमा धेरै नै चासो राख्नुहुन्छ, बिहानदेखी रातीसम्म पनि यतै खटिनुहुन्छ,' उनले भने ।