नेपालगन्ज : नेपालगन्जमा पहिलो पटक प्रदेशस्तरीय पौडी प्रतियोगिता हुने भएको छ । नेपालगन्ज स्वीमिङ क्लवको आयोजनामा कात्तिक २५ गते नेपालगन्ज रंगशालामा रहेको पौडी पोखरीमा प्रतियोगिता संचालन हुने भएको हो ।
उक्त प्रतियोगितामा बाँके, बर्दिया, दाङ, रुपन्देही र नवलपरासीका ५६ जना खेलाडी सहभागी हुने निश्चित भएको क्लवका अध्यक्ष केशवराज न्यौपानेले जानकारी दिएका छन । न्यौपानेका अनुसार प्रतियोगितामा ८, १०, १२, १४, १५ वर्ष उमेर समूहका अतिरिक्त खुल्ला उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
क्लवका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले ८ र १० वर्ष उमेर समूहका खेलाडीले २५ मिटर र अन्य खेलाडीले ५० मिटर दुरीमा प्रतिस्पर्धा गर्ने तथा खुल्लामा बटर फ्लाई र फ्रि स्टाइलमा प्रतिस्पर्धा हुने जानकारी दिए ।
क्लबले नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगिताको उद्घाटन सत्रमा नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष अशोक बज्राचार्य, महासचिव जगतमान श्रेष्ठ र लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई सहभागी हुनेछन ।
आयोजकका अनुसार प्रतियोगिताका विजेतालाई मेडल, ट्रफी र प्रमाणपत्र दिइने छ । नेपालगञ्ज रंगशालामा राष्ट्रियस्तरको प्रतियोगिता गर्ने तयारी अनुरुप प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा क्लवका उपाध्यक्ष डा. नितेश कनोडिया, प्रशिक्षक चन्द्रराम चौधरीलगायतले पत्रकारले सोधेका प्रश्नको जवाफ दिए ।