काठमाडौं : मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि मिश्रित खालका प्रतिक्रिया आएका छन् । सरकारमै रहेको नेपाली कांग्रेस, प्रतिपक्षमा रहेको नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाले यसको विरोध जनाइसकेको छ ।
सरकारले यसलाई बन्द गर्नुको सट्टा नियमन गर्नुपर्ने उनीहरूको भनाइ छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार उल्टो बाटो हिँडेको बताएका छन् । सामाजिक सञ्जालको दुरूपयोग गर्नेलाई निरूत्साहित गर्न नियमन गर्न आवश्यक रहेको तर त्यसलाई बन्द गर्ने निर्णय गलत भएको उनको भनाइ छ । यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता गर्न माग गरेका छन् ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाललाई नियमन गर्न आवश्यक रहेको तर सरकार नियन्त्रण गर्नतिर लागेको टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले पनि टिकटकलाई बन्द नभई नियमन गर्नुपर्ने बताएका छन् ।
गोपनीयता र साइबर सुरक्षाको चिन्ताका कारण धेरै देशहरूले टिकटक बन्द गरेका छन् । कतिपयले पूर्ण रूपमा बन्द गर्ने निर्णय गरे पनि कतिपयले आंशिक रूपमा बन्द गरेका हुन् ।
नेपाल सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सामाजिक सद्भाव बिगार्ने, उच्छृंखल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग भएकाले बन्द गर्ने निर्णय गरेको बताएकी छन् ।
टिकटक चिनियाँ टेक्नोलोजी कम्पनी बाइट डान्सले चलाउँछ । यो एपले चिनियाँ सरकारलाई डाटाहरू दिने आरोपहरू लाग्ने गरेको छ । कम्पनीले भने सरकारलाई कुनै खालको डाटा नदिने बताउँदै आएको छ ।