जाजरकोट : भूकम्पले घर भत्केर बस्नै नमिल्ने भएको छ । भूकम्प आएको दिनदेखी उनको परिवार नजिकैको चउरमा बसिरहेको छ । चिसो मौसममा घर बाहिरको बसाईले गर्दा ४ वर्षीया छोरी रितु बिरामी हुँदा जाजरकोट, रिम्ना गाउँकी ४० वर्षीया मनिषा चलाउने चिन्तामा छिन् ।
जाजरकोट, भेरी नगरपालिका वडा नम्बर १ रिम्ना निवासी उनको परिवार अघिल्लो शनिबारबाट घर बाहिर सुत्न थालेको हो । ‘छोरीलाई सन्चो छैन, घरभित्र बस्ने अवस्था छैन, बाहिरको बसाईले गर्दा होला, छोरीलाई ज्वरो र खोकीले सताएको छ,’ उनले भनिन् ।
उनी जस्ता अहिले भूकम्प प्रभावित जाजरकोट र रुकुम(पश्चिम) मा भर्गवती, सुत्केरीलाई बालबालिका ज्वरो, रुघाखोकी, निमोनिया लगायत समस्याबाट पीडित भएका छन् । जाजरकोटमा मात्रै भूकम्पका कारण करिब ३० हजार गर्भवती, सुत्केरी र बालबालिका प्रभावित भएको तथ्यांक निकालिएको छ ।
यो प्रदेशको कूल जनसंख्याको २२ प्रतिशत हो । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशानालयका अनुसार सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका गरी २९ हजार नौ सय ८२ प्रभावित भएका हुन्।
सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रवीन खड्काले जानकारी दिएका छन् । उनका अनुसार भूकम्पका कारण पाँच वर्षमुनिका मात्रै १९ हजार दुई सय ९६ बालबालिका प्रभावित भएका छन् । यस्तै पाँच हजार तीन सय ४३ स्तनपान गराइरहेका गर्भवती प्रभावित भएका छन् ।
तीन हजार तीन सय १७ गर्भवती प्रभावित हुँदा दुई हजार २६ स्तनपान गराइरहेका महिला प्रभावित भएको तथ्यांकमा जनाइएको छ । भूकम्पले जाजरकोट र रुकुमपश्चिममा धेरै नागरिक प्रभावित भएका छन् । गर्भवती, सुत्केरी र पाँच वर्षमुनिका बालबालिका झनै समस्यामा परेको डा. खड्काले जानकारी दिएका छन् ।