काठमाडौं : काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ३० दिनका लागि उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
प्रशासनले सोमबार बेलुकादेखि लागू हुने गरी ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दै प्रदर्शन र जुलुस गर्न रोक लगाएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।
उनका अनुसार पाँच जनाभन्दा बढी व्यक्ति भेलाई भई जुलुस, प्रदर्शन, धर्ना घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा यस्तो निर्णय गरिएको हो ।
पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वाेच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३क० बमोजिम निषेधित क्षेत्र तोक्ने निर्णय भएको हो । एमालेको भातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यही मंसिर ७ गते माइतीघरमा प्रदर्शन गर्ने तयारी गरिरहेका बेला काठमाडौं प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।