दाङ (चखौरा) : लुम्बिनी प्रदेश सरकार विस्तार गर्ने विषयमा सत्ता साझेदार दलबीचको बैठक बिना निष्कर्ष टुंगिएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको सोमबार बसेको बैठक निष्कर्षविहीन भएको हो ।
माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन र नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको उपस्थितीमा सोमबार दाङको चखौरामा बसेको बैठक बिना निष्कर्ष टुंगिएको एक नेताले जानकारी दिए ।
बैठकमा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, नेपाली काँग्रेसका प्रदेश सभापति अमरसिंह पुन, पूर्वसभामुख ओनसरी घर्ती र माओवादीका लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा समेत सहभागी भएका थिए ।
उक्त छलफलमा माओवादी केन्द्रका तर्फबाट दीपेन्द्र पुनलाई मन्त्री बनाउने भनिए पनि कांग्रेसका लुम्बिनी प्रदेशका सभापति पुनले नमानेपछि सहमति जुट्न नसकेको बताइएको छ । स्रोतले भन्यो, ‘माओवादीले दीपेन्द्र पुनलाई छोडेर सरकारलाई पूर्णता दिन नखोज्ने, काँग्रेस सभापति पुनले दीपेन्द्र पुनलाई स्वीकार नगर्ने यही कारण मन्त्रिमण्डल बिस्तारको काम रोकिएको छ ।’
गठबन्धनबाट प्रदेश सभाका उम्मेदवार बनेका काँग्रेसका अमरसिंहलाई बागी उम्मेदवार बनेर माओवादीका दीपेन्द्रले हराएपछि दुई नेता बीचमा अन्तरद्वन्द्व सृजना भएको थियो । निर्वाचन जितेपनि गठबन्धनविरूद्ध उम्मेदवार बनेका व्यक्तिलाई गठबन्धनबाटै मन्त्री बनाउन नसकिने काँग्रेस सभापति पुनको अडान छ ।
माओवादी केन्द्रले भने दीपेन्द्रसँगै कृष्णा केसी नमुनालाई ७ महिनाअघि नै मन्त्री बनाउन सिफारिस गरेको थियो । सात सदस्यीय मन्त्रिमण्डलमा हाल नेपाली काँग्रेसबाट मुख्यमन्त्री सहित २ जना र माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीबाट एकरएक जना मन्त्री रहेका छन् ।