नेपालगन्ज : प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा उपहार स्वरुप दिने भनिएका १५ वटा ‘मुर्रा’ राँगा बुधबार बेलुका नेपालगन्ज ल्याइएको छ । भारतको पञ्जावबाट राँगालाई स्थलमार्ग हुदै नेपालगन्ज ल्याइएको हो ।
भारतको पञ्जाबस्थित राष्ट्रिय भैसी अनुसन्धान केन्द्रबाट ल्याइएको राँगाको क्वारेन्टाइन चेकजाँच गरेर मुुलुकका तीन स्थानमा रहेका राष्ट्रिय पशु प्रजजन कार्यालयमा राखिने पशु सेवा विभागका प्रमुख पशु विकास अधिकृत डा. माधवप्रसाद अर्यालले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारत सरकार र नेपाल सरकारबीच दुई पक्षिय समझदारी अन्र्तगत नस्ल सुधारका लागि मुर्रा जातको १५ वटा राँगा दिने भारतले प्रतिवद्धता जनाएको थियो । प्रधानमन्त्रीको भ्रमण पश्चात पशु सेवा विभागको टोली भारत पुगेर राँगा छनोट लगायतका काम गरेपछि स्थलमार्ग हुदै रुपैडिहा नाकाबाट नेपालगन्ज प्रवेश गराइएको डा. अर्यालले सुनाए ।
‘आफ्नो देशको जैविक विविधता संरक्षण गर्ने हिसाबले कुनैपनि जेनेटिक मेटेरियलहरु बेचविखन गर्न नदिने भारतको राष्ट्रिय नीति रहेछ, त्यसकारण किनेर ल्याउने सम्भावना पनि रहँदैन, त्यसका लागि दुई देशबीच समझदारी भएर मात्र आउन सम्भव भएको हुँदा प्रधानमन्त्री स्तरिय भ्रमणमा यो कुराको टुंगो लाग्यो,’ उनले भने ।
प्रधानमन्त्री दाहालको भ्रमण पश्चात प्राविधिक काम, राँगा छनोट लगायत काम गर्नका लागि पशु सेवा विभागका पुर्वउपमहानिर्देशक डा. सम्झनाकुमारी काफ्लेको संयोजकत्वमा एक टोली भारत पुगेको थियो । करिव एक साताअघि सोही टोलीले टुंगो लगाएका मुर्रा राँगालाई भारतीय अधिकारी हस्तान्तरण गरेपछि दुई वटा ट्रकमा लोड गरेर नेपालगन्ज ल्याइएको डा. अर्यालले प्रष्ट्याए ।
नेपालगन्ज आईपुगेको राँगालाई नेपालगन्जको जैसपुरस्थित पशु क्वारेन्टाइन कार्यालयको होल्डिङ याडमा राखिएको छ । राँगाको स्वास्थ्य परिक्षण लगायत प्राविधिक काम गरेर पशु चिकित्सक सहितको टोलीले राष्ट्रिय पशु प्रजजन कार्यालयमा पुर्याउने बताइएको छ ।
‘राँगा स्वस्थ छन भन्ने प्रमाणित भईसकेपछि हामीले एक/दुई दिनपछि सम्बन्धित ठाउँमा ढुवानी गरेर पुर्याउँछौं, पशु चिकित्सक सहितको प्राविधिक टोली यसमा खटिन्छन्,’ उनले थपे । विभागका अनुसार पोखरामा रहेको राष्ट्रिय पशु प्रजजन कार्यालयमा ७ वटा, लहानमा ५ वटा र बाँकेको खजुरास्थित गौघाटमा रहेको राष्ट्रिय पशु प्रजजन कार्यालयमा ३ वटा राँगा राखिनेछ ।