नेपालगन्ज : धारा नेपालगन्ज म्याराथनको तयारी पुरा भएको छ । विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिरको स्मरणमा हरेक वर्ष म्यारथन सञ्चालन हुदै आएको छ । म्याराथनको नवौ संस्करणको तयारी पुरा भएको आयोजकले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दियो ।
आयोजक क्रियटिभ ह्याण्ड्सका संस्थापक अध्यक्ष टिएस ठकुरीले मंसिर ९ गते हुन लागेको नवौं धारा नेपालगन्ज म्याराथनको आवश्यक तयारी पुरा भएको जानकारी दिए । यस्तै मंसिर ८ गते हुने ‘नेपालगन्ज कनक्लेभ’ को तयारी पनि पुरा भएको उनले बताए ।
कनक्लेभमा आर्थिक, साहित्य, आधाआकाश, खेल सहितको विभिन्न बिषयमा छलफल हुने आयोजकले जनाएको छ । म्याराथनका विजेताले नगद २ लाख प्राप्त गर्नेछन् । यस्तै दोस्रो स्थान हासिल गर्नेले एक लाख, तेस्रो हुनेले ५० हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार, छैटौंले १० हजार, सातौं र आठौंले समान ५÷५ हजार नगद प्राप्त गर्ने आयोजले जनाएको छ ।
हाफ म्याराथन(महिला)मा प्रथम हुनेले ७५ हजार, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार, चौथो हुनेले १५ हजार, पाँचौले १० हजार, छैटौं, सातौं र आठौंलाई समान ५÷५ हजार प्रदान गरिनेछ । यस्तै १० किलोमिटर महिला र पुरुषतर्फ शिर्ष तीन जनालाई ३० हजार, १५ हजार र १० हजार नगदले पुरस्कृत गरिने अध्यक्ष ठकुरीले बताए । स्कुल स्तरिय ५ किलोमिटर दौडमा शिर्ष तीन जनालाई पाँच हजार, तीन हजार र दुई हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
ह्वील चियर दौडमा पनि पुरुष र महिलातर्फ अलग-अलग शिर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजार नगदसहित पुरस्कृत गरिने जानकारी दिए । यस वर्ष म्याराथनमा रेकर्ड ब्रेक गर्ने एक खेलाडीले लण्डन म्याराथनमा सहभागी हुन पाउने ब्यवस्था मिलाइएको अध्यक्ष ठकुरीले बताए । उत्कृष्ट स्कोर हासिल गर्ने खेलाडीने लण्डन म्याराथनमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।