नेपालगन्ज : भूकम्पले भत्काएका घर ठड्याउने रकम जोहो गर्न प्रभावित क्षेत्रका सर्वसाधारण रोजगारीका लागि भारत जान थालेका छन । नेपालगन्ज नाका हुँदै अचेल दिनहुँ जसो ठुलो संख्यामा उनीहरु भारतका विभिन्न स्थानमा गइरहेका छन ।
भूकम्प प्रभावित जाजरकोट, रुकुम (पश्चिम), सल्यान, सुर्खेत लगायत जिल्लाका सर्वसाधारणहरू रोजगारीका लागि भारत जान थालेका हुन् । भूकम्पले घर भत्काएपछि श्रीमती, छोराछोरी र वृद्ध अवस्थाका आमा बुवालाई गाउँमै छाडेर विशेष गरी युवाहरू भारततर्फ गइरहेका छन ।
‘भूकम्पले घरमा धेरै क्षति गरेको छ, हामीसँग घर बनाउने पैसा छैन, सरकारले पनि हेर्ने वाला छैन,’ जुनिचाँदे गाउँपालिका–११ जाजरकोटका २८ वर्षीय कालिबहादुर कसेराले भने ‘भत्केको घर त बनाउनु र्पयो, घर बनाउनलाई थोरै भएपनि पैसा कमाउनलाई भारत जान लागेको हुँ ।’
घरबाट निस्केका उनी नेपालगन्जको जमुनाहास्थित नेपाल-भारत सीमा क्षेत्रमा भारत जाँदै गरेको अवस्थामा भेटिएका हुन् । उनीसहित गाउँका करिब ११÷१२ जनाको समूह सोही नाका हुँदै भारत गएको छ । भूकम्पपछि आफ्नो गाउँका मात्रै एक सयभन्दा बढी व्यक्तिहरू रोजगारीका लागि भारत हिँडेको कसेराले सुनाए ।
गाउँमा बुवा, आमा, भाइ र बहिनी त्रिपालको साहारामा बसिरहेको उनले बताए । ‘सरकारबाट त अहिलेसम्म एउटा त्रिपाल पनि मिलेको छैन, आफैले किनेर ल्याएको त्रिपालमा गुजारा चलिरहेको छ,’ कसेराले सुनाए ।
जाजरकोट, जुनिचाँदे गाउँपालिका वडा नम्बर ३ का ४१ वर्षीय रुपबहादुर टमाटा पनि रोजगारीका लागि भारत हिँडेका छन् । विगतका वर्षमा पनि भारत जाने गरेका उनी यस पटक भने भूकम्पले घर चिरा–चिरा पारेपछि पुनः निर्माण गर्ने रकम जोहो गर्नकै लागि बाध्यताले हिँडेका हुन् ।
‘भूकम्पले घरलाई चिरा पारेको छ, बस्नै नमिल्ने अवस्थामा रहेको घर पुनः निर्माण गर्नुको विकल्प छैन,’ उनले भने ‘घरमा खाने खर्च छैन, बस्ने घरको टुंगो छैन, यस्तो अवस्थामा बाध्य भएर भारत जान थालेको हुँ ।’ विपद्को अवस्थामा पनि घरमा श्रीमती र दुई छोरालाई छाडेर आफू भारत हिँडेको टमाटाले दुखेसो पोखे ।
‘श्रीमती र दुई छोरा टेन्टमा बसेका छन, भारतमा कमाई राम्रो भयो भने फर्केर घर बनाउनुपर्ला,’ उनले भने । आफ्नो गाउँबाट पनि थुप्रै व्यक्तिहरू अहिले भारततिर लागेको टमाटाले सुनाए। नेपालगन्जस्थित जमुनाहा नाकामा अचेल भूकम्प प्रभावित क्षेत्रका सर्वसाधारणहरू भारततर्फ गइरहेको दृश्य देखिन्छ ।
नेपाल-भारत सीमा क्षेत्रमा रहेको ईलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार अचेल दैनिक रुपमा कर्णाली र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका सर्वसाधारण नागरिक रोजगारीका लागि भारत जाने गरेका छन् । ईप्रका जमुनाहाका इन्चार्ज (सई) मिनबहादुर विष्टले नेपालबाट कामका लागि भारत जाने र भारतबाट काम गरेर फर्किने नेपालीको संख्या उत्तिकै रहेको सुनाए ।
गत कात्तिकमा आएको विनाशकारी भूकम्पले विशेष गरी जाजरकोट र रुकुम (पश्चिम) मा बढी मात्रामा मानवीय र भौतिक क्षति गरेको थियो । यी बाहेक आसपासका जिल्लामा रहेका स्थानीय बासिन्दाका भौतिक संरचनामा क्षति गरेको छ । सरकारले भूकम्प पीडितलाई घर बनाउनका लागि राहत स्वरूप रकम दिने घोषणा गरे पनि पीडितहरू अन्यौलता छन् ।
सरकारले दिने भनिएको रकमले घर बनाउन अपुग हुने उनीहरुको गुनासो छ । कतिपयले त सरकार दिने भनेको रकम समेत पाउने आशा गरेका छैनन । परिवारको खर्च टार्न र भूकम्पले क्षति गरेको घर बनाउनलाई पैसा कमाउनका लागि भारत बाध्य हुनुपरेको अधिकांश बताउँछन ।