बाँके (राप्ती सोनारी) : राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ मा सञ्चालित स्वास्थ्य शिविरमा ६ सय १५ जनाले सेवा लिएका छन् । गाउँपालिकाको वडा नम्बर ९ स्थित जनता माध्यामिक विद्यालय परिसरमा गरिएको उक्त शिविरमा ६ सय १५ जनाले सेवा लिएको राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए ।
स्थानीयबासीलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको उनले बताए । देवकोटाका अनुसार १ सय १२ जनाले स्त्री तथा प्रसूती सेवा, २ सय ४८ जनाले अर्थोपेडिक सेवा, २ सय ५० जनाले मेडिसिन सेवा, ६२ जनाले छाला रोग उपचार सम्वन्धी सेवा, २ सय ६१ जनाले इएनटी सेवा र ८० जनाले मुटु रोग सम्वन्धी सेवा लिएका छन् ।
शिविरमा अर्जुनबाण गणका अर्थाेपेडिक सर्जन डा. अमृतरत्न शाक्य, नेपाली सेनाकै फिजिसियन डा. सुरेश कायस्थ, भेरी अस्पतालका मुटुरोग विशेषज्ञ डा. विकास नेपाल, डा. कमलजंग शाही, स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. मञ्जु शाह, डा. कविर वास्तोला लगायतले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविर उद्घाटन कार्यक्रममा राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, अर्जुनबाण गण ओभरीका निमित्त गणपति गंगाधर खत्री, गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारु, प्रमुख प्रशासकी अधिकृत ओमप्रकाश देवकोटा लगायतको उपस्थिती रहेको थियो ।