नेपालगन्ज : लामो समयदेखी नेपालगन्ज–पोखरा सिधा उडान गर्नुपर्ने विषयमा ब्यापक रुपमा छलफल, बहस हुदै आएपनि यसअघि कुनैपनि हवाई कम्पनीले आफ्नो ब्यवसायिक उडान थालेका थिएनन् । उक्त मुद्दालाई अगाडी सार्दै आएको नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) बाँके च्याप्टरले सरकार र हवाई कम्पनीलाई दवाव दिनकै लागि गत फागुनमा उक्त रुटमा चार्टर उडान सुरु गरेको थियो ।
सिता एअरको १८ सिटे जहाजबाट सुरु गरिएको चार्टर उडानलाई कोरोना भाईरस(कोभिड– १९ ) महामारीको दोस्रो लहरले असर गर्यो र बीचमै बन्द भयो । दुई वर्षअघि पनि बुद्ध र यति एअरले नेपालगन्ज–पोखरा उडान थाल्ने तयारी गरेका थिए, तर विभिन्न कारण देखाउँदै अन्तिममा स्थगित गरेका थिए । पर्यटन व्यवसायीको चर्को दवाव, यात्रुको मागका आधारमा बुद्ध एअरले गत साउन १७ गतेबाट उक्त रुटमा ब्यवसायिक उडान सुरु गर्यो ।
कम्पनीले अहिले सो रुटमा उडानलाई निरन्तरता दिइरहेको छ । कम्पनीको १८ सिटे जहाजबाट उडान सुरु गरिएको बुद्ध एअरका नेपालगन्ज स्टेशन प्रमुख विनित शाह बताउँछन् । नेपालगन्ज–पोखरा रुटमा यात्रुलाई आर्कषण गर्न विभिन्न प्याकेज पनि ल्याइएको उनको भनाई छ । तत्कालका लागि सातामा ३ वटा उडान गरेपनि कोरोना महामारी कम हुदै गएपछि उडान र ठुलो जहाज सञ्चालन गर्ने प्रमुख शाहले सुनाए ।
यहाँका पर्यटन ब्यवसायीले नेपालगन्ज र पोखरा क्षेत्रको पर्यटन प्रर्वद्धनमा ठुलो टेवा पुग्ने विश्वास गरेका छन् । नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट(नाटा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल नेपालगन्ज–पोखरा रुटमा यात्रुको चाप धेरै हुने विश्वास गर्छन् । उक्त रुटमा यसअघि निजी स्तरबाट नाटा बाँके च्याप्टरले चार्टर उडान गरेको स्मरण गर्दै आफुहरुले थालेको अभियानलाई साथ दिदै बुद्द एअरले ब्यवसायिक उडान सुरु गरेको बताए ।
रारा, कैलास मानसरोवर, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके निकुञ्ज लगायत पश्चिम क्षेत्रका पर्यटकीय स्थल घुम्नका लागि आउने पर्यटकलाई लक्षित गरेर नेपालगन्जमा आधा दर्जनबढी तारे होटल सञ्चालनमा छन् । नेपालगन्ज नाका हुदै आउने भारतीय पर्यटक यस क्षेत्रमा घुमेर पोखरा जान र पोखराबाट पर्यटक सिधै नेपालगन्ज आउन चाहन्थ्ये, त्यसका लागि यसअघि सिधा हवाई उडान नै थिएन ।
सिधा हवाई उडानका लागि विगतमा जनप्रतिनिधी, पर्यटन ब्यवसायी, ट्राभल एजेन्सी लगायतले पहल थालेपनि सरकार र विमान कम्पनीको बेवास्ताका कारण उक्त मुद्दा अधुरै थियो ।
सिधा हवाई उडान नहुँदा पर्यटकलाई आर्थिक मार पर्नुका साथै झण्झटिलो हुने हुँदा त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रले बेहोर्नु परिरहेको र अब पश्चिम क्षेत्रका थुप्रै पर्यटकीय स्थलको प्रर्वद्धनमा टेवा पुग्ने पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ बताउँछन् ।
मुलुकको अग्रणी विमान कम्पनी बुद्ध एअरले पहिलो पटक ब्यवसायिक उडान थालेपछि भने हवाई यात्रु, होटल ब्यवसायी, पर्यटन ब्यवसायी लगायत हर्षित भएका छन् । नेपालगन्ज–पोखरा उडानमा प्रतिव्यक्ति भाडा ४ हजार ९ सय ९५, पाँच हजार ५ सय ६५ र ७ हजार ६ सय ६५ तोकिएको छ ।
यसका साथै नेपालगन्जबाट पोखरा घुम्न जाने पर्यटकका लागि आउने–जाने भाडा, दुई रात बास, नास्ता र विमास्थल–होटलसम्म यातायातको ब्यवस्था सहित ११ हजार र पोखराबाट बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई सोही सुविधासहित १३ हजार ९ सय प्याकेज ल्याइएको कम्पनीले जनाएको छ ।