बाँके (कचनापुर) : अपांगता भएका ब्यक्तिको ३२ औं अन्तराष्ट्रिय दिवस आइतबार राप्ती सोनारी गाउँपालिकामा पनि मनाइएको छ । दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ स्थित कचनापुर स्वास्थ्य चौकीमा स्वाथ्य परिक्षण शिविर तथा लेखाजोखा कार्यक्रम गरिएको हो ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथी समेत रहेका राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले गाउँपालिकाको तर्फबाट अपांगता भएका ब्यक्तिको लागि सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गरिरहेको बताए ।
गाउँपालिका अन्तरगतका सबै वडामा यसअघि पनि स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी दिदै उनले दिवसको अवसरमा विशेषगरी ५ वटा वडामा अपांगता भएका ब्यक्ती लक्षित शिविर सञ्चालन गरिरहेको बताए । अपांगता भएका ब्यक्तिको आवश्यकता अनुसार सहायता सामाग्री पनि उपलध गराइएको अध्यक्ष पौडेलले बताए ।
कार्यक्रमको अध्यक्षता गरेकी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले गतवर्ष अपांगता सहायता सामाग्रीका लागि ४४ जनाको नाम सिफारिस भएपनि ३७ जनालाई सामाग्री वितरण गरिएको बताइन् । गतवर्ष वितरण गरिएको सहायता सामाग्रीको प्रभावकारिताबारे लेखाजोखा गरी थप सहायता सामाग्री वितरणको योजना बनाईने उनले बताइन् ।
गाउँपालिकाको आयोजना तथा नेपालगन्ज मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालन गरिएको स्वास्थ्य परिक्षण शिविरमा राप्ती सोनारी गाउँपालिका २ अन्तरगतका कुल ६७ जना अपांगता भएका ब्यक्तीको स्वास्थ्य परिक्षण गरिएको थियो । सो क्रममा २० जनाको फिजियो थेरापी, १४ जनाको आँखा जाँच, १४ जनाको नाक, कान, घाँटी, ६ जनाको अडियो ग्राम जाँच र ३९ जनाको सामान्य चिकित्सा जाँच गरिएको गाउँपालिका उपाध्यक्ष थारुले जानकारी दिइन् ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ बाट प्रारम्भ गरिएको दिवस उद्घाटन कार्यक्रममा गाउँपालिका स्तरीय अपांगता पुनःस्थापना सञ्जालका अध्यक्ष यमराज ओली, राप्ती सोनारी २ का वडासदस्य केशवराज दमाई लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । आगामी पाँच दिनसम्म विभिन्न ५ वटा वडामा स्वाथ्य परिक्षण शिविर र लेखाजोखा कार्यक्रम गरेर दिवस मनाईने गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सम्झना दलामीले जानकारी दिइन् ।