बाँके(राप्ती सोनारी) : नेपाल प्रेस युनियन बाँकेले जिल्लाका स्थानीय तहसँग अन्तरक्रिया सुरु गरेको छ । स्थानीय तहले हासिल गरेका उपलब्धी, सम्भावना र चुनौतीको समिक्षा गर्न अन्तरक्रिया सुरु गरेको हो ।
यसैक्रममा युनियनले पहिलो पटक राप्तीसोनारी गाउँपालिकामा अन्तरक्रिया गरेको छ । युनियन बाँकेका अध्यक्ष प्रियास्मृती ढकालको अध्यक्षतामा भएको अन्तरक्रियामा गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषासिंह थारु, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, विषयगत शाखा प्रमुख, युनियनका कार्यसमिति पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले सहजीकरण गरेको उक्त अन्तरक्रियामा स्थानीय निकाय निर्माण गरेका योजना, समस्याका बारेमा छलफल गरिएको थियो । सो क्रममा गाउँपालिकाले हासिल गरेका उपलब्धिसँग स्थानीय जनतालाई जोड्दैं गाउँपालिकाका सम्भावनालाई उजागर गर्ने प्रयास गरिएको थियो ।
अन्तरक्रियामा गाउँपालिका अध्यक्ष पौडेलले जनताका आवश्यकतालाई मध्यनजर गर्दै काम गरिरहेको बताए । ‘गाउँपालिकामा हामीले दुईवटा शाखाहरु बिस्तार गरेका छौं, कृषि सहकारी शाखा र न्यायिक समिति,’ उनले भने ‘कृषि विकास रणनीति तयार गरिएको छ ।’
यस्तै उपाध्यक्ष थारुले आफू निर्वाचित भएर आएपछि आफ्नो जिम्मेवारी तथा विकास निर्माणका काम अगाडी बढाइएको बताइन् । प्रमुख प्रशासकीय अधिकृत देवकोटाले विकासमा स्थानीय जनताको चेतना स्तरलाई माथि उठाउन जरुरी रहेको बताए ।