बाँके(बैजनाथ) : बैजनाथ गाउँपालिकाले डिजिटल कृषि तथा पशु परामर्श सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । कृषि क्षेत्रलाई माथी उठाउन गाउँपालिकाले यस्तो सेवा सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिदै किसानसँग पालिका प्रमुख कार्यक्रम गत आर्थिक वर्ष २०७९/०८० देखी सञ्चालनमा ल्याइरहेको छ । डिजिटल कृषि तथा पशु परामर्श सेवा केन्द्रमार्फत स्थान अनुरुप जलवायु मैत्री कृषि प्रणाली, बाली/पशु सम्बन्धी सम्पूर्ण जानकारी, स्वचालित स्मार्ट सूचना, मौसम तथा बजार मुल्य, माग अनुसार विज्ञसँग छलफल र उत्पादन खर्च र बिक्री वितरणबारे किसानले थाहा पाउनेछन् ।
डिजिटल कृषि तथा पशु परामर्श सेवा केन्द्र शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले सूचनाको कमीले गर्दा किसानलाई समस्या पर्दै आएकोमा अब त्यो समस्याको अन्त्य हुने बताए । किसानसँग पालिका प्रमुख कार्यक्रममा पनि यसलाई जोड्ने उनले सुनाए ।
भिडियो हेर्नुंस् :
स्थानीय सरकार बैजनाथ गाउँपालिकाले किसानलाई विभिन्न यान्त्रीकरण दिएको उल्लेख गर्दै अध्यक्ष शाहीले कृषि प्राविधिक कुरा, उत्पादनलाई जोड्न र बजारीकरण गर्नका लागि डिजिटल कृषि तथा पशु परामर्श सेवा केन्द्रले सहयोग गर्ने विश्वास गरे । बैजनाथ गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि धेरै काम गरेको बताउँदै उनले गाउँपालिका किसानसँग साझेदारी गर्न तयार रहेको प्रतिवद्धता जनाए ।
उक्त कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य एवम् वडाअध्यक्षहरु प्रेमबहादुर शाही, देबबहादुर रावत, निखिल बैगार र दिनेश थारु, कार्यपालिका सदस्यहरु फरिदुद्दिन हलवाई, भुमिसरा राना, कृष्णा बिक र कमानसिंह सुनार, कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्मा, पशु विकास शाखा प्रमुख खड्गबहादुर सिंह लगायतको उपस्थिती रहेको थियो ।