रुकुम(पश्चिम) : जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा जिल्ला अदालत रुकुम (पश्चिम)ले २३ जनालाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश खडकबहादुर केसीको इजलासले पुर्पक्षका लागि थुनामा रहेका २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।
दोषी ठहर हुनेमा चौरजहारी नगरपालिका–८ का तत्कालिन वडाअध्यक्ष डम्बरबहादुर मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुनमगर, धनाराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इन्द्रबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा र दाजु लगायत रहेका छन् ।
यस्तै, नवराजकी प्रेमिका, उनका भाई र आमालाई जातीय विभेद सम्बन्धी मुद्दामा २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ । उनीहरूलाई यसअघि साधारण तारेखमा छोडिएको थियो । यसअघि नै धरौटीमा छुटेका ११ मध्ये ८ जनाले भने सफाइ पाएका छन् ।
साढे तीन वर्षअघि नवराज बिक सहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला सरकारी वकिल कार्यालयले २ नाबालक सहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।