बाँके(बैजनाथ) : थारु समुदायको इतिहास झल्किने संग्रहालय बनाउन बैजनाथ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मै डिपिआर प्रक्रिया अगाडी बढाउने भएको छ ।
संग्रहालय निर्माण लगायत विभिन्न मागहरु राखेर ज्ञापन पत्र बुझाउन बिहीबार गाउँपालिका कार्यालयमा आएका थारु समुदायका बरघर, समुदायका अगुवा लगायतलाई सम्बोधन गर्ने क्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले डिपिआर तयार गर्न आफुले कार्यपालिका बैठकमा प्रस्ताव पेश गर्ने बताए । ‘संग्रहालयको डिपिआर बनेपछि बजेट पाउने सुनिश्चिता हुन्छ, त्यो डिपिआर तयार गर्न म प्रयास गर्नेछु,’ उनले भने ।
यस्तै थारु समुदायका ‘बरघर ऐन’ पनि आफ्नो कार्यकालमा बनाउने अध्यक्ष शाहीले प्रतिवद्धता जनाएका छन् । ‘यो भन्दा पहिले पनि गाउँपालिकाले बजेट छुट्याइएको थियो, गतवर्ष कार्यक्रम गरेर सामान्य छलफल भएको हो,’ उनले भने ‘बडघरलाई के-के अधिकार दिनुपर्छ भनेर त्यो ऐन बनाउँछौं, कतिपय कुराहरु कानुनसँग बाझिन सक्छन्, संविधान र कानुनसँग नबाझिने खालको ऐन बनाउन सकिन्छ ।’
आफु स्थानीय तहको चुनाव लड्दा ‘शहिद’ बैजनाथ थारुको घरबाट अभियान सुरु गरेको स्मरण गर्दै अध्यक्ष शाहीले चुनाव जितेपछि थारु समुदायलाई समेटेर नै काम गरिरहेको बताए । स्थानीय सरकारको कार्यपालिकामै थारु समुदायको प्रतिनिधित्वि रहेको सुनाए ।
स्वर्गिय बैजनाथ थारुको गृह स्थानमा गाउँपालिकाले १ करोड ५ लाख रुपैयाँको लागतमा भवन निर्माण गर्न लागेको अध्यक्ष शाहीले जानकारी दिए । ‘हाम्रो गाउँपालिकामा थारुको जनसंख्या धेरै छ, स्थानीय सरकारले गर्ने काममा थारु समुदायलाई समेट्दै आएका छौं,’ उनले भने ‘थारु समुदायको खानपान, कला, सँस्कृति, भेषभुषालाई बचाउनका लागि संग्रहालय बनाउन आवश्यक छ, तर संग्रहालयमा एकरुपता ल्याउनुपर्छ, हामीले दिर्घकालिन योजना बनाएर जानुपर्छ ।’ बैजनाथको कुल जनसंख्याको ३८ प्रतिशत थारु समुदायको बसोबास रहेको बताइन्छ ।
बैजनाथमा रहेका थारु समुदायका अगुवाले ज्ञापन पत्र बुझाउँदै थारु संग्रहालय सबैको पायक पर्ने ठाउँ वडा नम्बर ५ छमनियाँस्थित जन प्रतिभा सामुदायिक वन बनाउनुपर्ने, संग्रहालयलाई पालिका स्तरिय प्राथमिकता प्राप्त योजनाका रुपमा सुचिकृत गरी निर्माणका लागि पालिकाबाटै बहुवर्षे बजेटको ब्यवस्था गरिदिनुपर्ने, थारु जातिको महान चार्ड तथा नयाँ वर्षको अवसरमा थारु माघी महोत्सवका लागि उचित बजेट व्यवस्था गरिदिनुपर्ने माग गरेका छन् ।
यस्तै नयाँ पुस्तामा हस्तान्तरण गर्ने थलोका रुपमा थारु संग्रहालय बनाउने र अन्य पर्यापर्यटन गतिविधिमार्फत स्थानीय स्तरमा रोजगारका अवसर सृजना गरी सुखी नेपाली समृद्ध नेपालको इच्छा र आकांक्षालाई पुरा गर्न एक राष्ट्रिय प्राथमिकता प्राप्त योजनाका रुपमा प्रदेश र संघमा सिफारिस गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
थारु संग्रहालय निर्माणका लागि जनप्रतिभा सामुदायिक वन उपभोक्ता समुहले ६ विघा जमिन उपलब्ध गराइसकेको छ । बैजनाथ गाउँपालिका स्तरिय थारु बरघर परिवार तथा थारु अगुवा समाजसेवी, जनप्रतिभा सामुदायिक वन उपभोक्ता समुह र थारु साँस्कृतिक संरक्षण तथा पर्यापर्यटकीय केन्द्र बैजनाथ-५ छमनियाँ बाँकेको तर्फबाट अगुवा चन्तराम थारुले उक्त ज्ञापन पत्र गाउँपालिका अध्यक्ष शाहीलाई हस्तान्तरण गरेका थिए ।
यही मंसिर १६ गतेका दिन ‘गाउँपालिका स्तरिय थारु समुदायको बृहत आमभेला तथा साँस्कृतिक कार्यक्रम’ गरी दुरगामी महत्वपूर्ण निर्णय गरेर स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाइएको थारु अगुवा चन्तरामले जानकारी दिए । सो क्रममा बैजनाथ गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष भगन थारु, विभिन्न वडा तथा गाउँका बरघर, थारु अगुवा, बुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो ।