नेपालगन्ज : बैंक तथा वित्तीय संस्थाले सास्ती दिएको भन्दै यसक्षेत्रका उद्योगी ब्यवसायीले संघर्ष समिति नै बनाएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको संंयोजकत्वमा बिहीबार १ हजार १ सदस्यीय व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति गठन गरिएको हो ।
नेपाल सरकारको अव्यवहारिक कर नीति, बैंक तथा वित्तीय संस्थाको मनोमानी तथा खुला सिमानाको असरबाट उद्योगी व्यवसायीले भोग्नु परेका समस्याबारे संघले बिहीबार नेपालगन्जमा आयोजना गरेको बृहत अन्तरक्रियामा संघर्ष समिति गठन गरेर आन्दोलनमा जाने निर्णय गरिएको थियो ।
उक्त समितिको संरक्षकमा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी र संघका महासचिव भीमबहादुर रानाभाट सदस्य (सचिव) रहेको बताइएको छ । समितिको सचिवालय भने ४१ सदस्यीय रहेको जनाइएको छ ।
यसैगरी संघका पूर्वअध्यक्ष, सल्लाहकार एंव संरक्षकहरु कन्हैयालाल टण्डन, अच्युत प्रसाई, सतिशचन्द्र अग्रवाल, सुनिलकुमार शर्मा कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेबाट केन्द्रमा प्रतिनिधित्व गर्ने कृष्णा पाठक, शेषकान्त शर्मा, कुबेर रिजाल, जीवनाथ सापकोटा र सर्मिला खत्री, दुर्गाप्रसाद भण्डारी, मुरलीधर मिश्र, विष्णु खनाल, भोजराज तिमिल्सेना र सलाउद्दिन जसगढलाई सल्लाहकार चयन गरिएको छ ।
संघर्षका कार्यक्रम तय गर्न शुक्रबार दिउँसो सचिवालय बैठक बस्ने भएको छ । संयोजक धामीका अनुसार संघर्ष समितिलाई कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उद्योग वाणिज्य संघले पनि समर्थन जनाएका छन् ।