नेपालगन्ज : सरकारी जागिर खानका लागि मान्छेले के सम्म गर्छन् भन्ने कुराको पछिल्लो उदाहरण बनेका छन्, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ निवासी प्रदिप बर्मा । बेरोजगारी समस्याबाट प्रताडित भएका बर्माले जब सरकारी जागिर खाने निधो गरे, उनको सम्पर्कमा आए, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ नहरपुर्वा निवासी फहद खाँ ।
बेरोजगार बर्मालाई खाँले सजिलैसँग सरकारी जागिर खुवाउने कुरामा आश्वास्त पार्न भ्याए । त्यसपछि उनले बर्मासँग शैक्षिक योग्यताका प्रमाणपत्रहरु मागे । बर्माले पनि उनलाई सजिलै विश्वास गरेर आफुसँग भएका कागजातहरु हात पारे । खाँले बर्मालाई सरकारी छाप किर्ते गरेर राष्ट्रिय अनुसन्धानको नक्कली नियुक्तीपत्र दिन नै भ्याए ।
आफुलाई दिइएको नियुक्तीपत्र नक्कली हो वा सक्कली भनेर बर्माले कुनै भेउ पाएनन् । बरु जागिर खुवाए वापत बर्माले गत भदौं ३ गते खाँलाई नगद २६ हजार बुझाए । नियुक्तीपत्र पाएपछि उनले राष्ट्रिय अनुसन्धानका लागि फिल्डमा खटिएर काम गर्न सुरु गरे । जागिर सुरु गरेको जब महिना दिन पुग्यो, बर्माले तलब माग्न थाले । त्यसपछि खाँ सम्पर्कमा नै आएनन् ।
आफुलाई सरकारी छाप किर्ते गरेर नक्कली नियुक्तीपत्र दिएको कुरा बर्माले तब मात्र थाहा पाए । वास्तविक कुरा थाहा पाउँदा बर्मा छांगाबाट खसेझै भए । त्यसपछि उनी कानुनी कारबाहीका लागि प्रहरीको सम्पर्कमा पुगे ।
बर्माको निवेदन आएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले खाँलाई खोज्न सुरु गर्यो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार राष्ट्रिय अनुसन्धानको कर्मचारी बनाईदिने भन्दै ठगी गर्ने खाँ अन्ततः प्रहरीको फन्दामा परेका छन् । आरोपी खाँलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको उनले बताए । कार्यालयमा पीडितले सूचना दिएपछि नेपालगन्ज-२२ नहरपुर्वा निवासी खाँलाई नियन्त्रणमा लिइएको प्रवक्ता डाँगीले जानकारी दिए ।
‘कोही कसैले कसैलाई राष्ट्रिय अनुसन्धानको कर्मचारी बनाईदिन्छु भनी ठगी गरेको जानकारी पाएमा जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिन समेत यसै विज्ञप्ति मार्फत सूचित गरिन्छ,’ जिप्रका बाँकेद्धारा जारी नोटमा भनिएको छ । आरोपी खाँले जागिर लगाईदिन्छु भन्दै अन्य ब्यक्तीलाई पनि ठगेको हुन सक्ने बाँके प्रहरीको आशंका छ ।