नेपालगन्ज : नेपाल बिद्युत प्राधिकरणले हरियाली प्रवद्र्धनका लागि नेपालगन्ज उपमहानगर क्षेत्रमा रोपिएका रुख, बिरुवा अन्धाधुन्ध रुपमा काटेको छ । प्राधिकरणले सदरलाईन रोडस्थित तुलसीपुर उच्च अदालत नेपालगन्ज ईजलास, बाँके जिल्ला अदालत र भेरी अस्पताल क्षेत्रका रुख, बिरुवा र हाँगाहरु शनिबार दिउँसो काटेको हो ।
प्राधिकरणले तार ब्यवस्थापन गर्ने निहुँमा कसैसँग पनि समन्वय नगरेर रुख काटेपछि अहिले चौतर्फी रुपमा बिरोध भइरहेको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले दुःख गरेर हुर्काएका रुख, बिरुवालाई बिद्युत प्राधिकरणले काटेको बताए ।
प्राधिकरणले स्थानीय सरकार, डिभिजन वन लगायत कुनैपनि निकायसँग समन्वय नगरेको उनले सुनाए । ‘बिद्युत प्राधिकरणलाई कारबाहीका लागि हामी सिफारिस गर्छौ, हामीले दुःख गरेर हुर्काएका रुखहरु यसरी काटिएको छ कि आँखाबाट आँसु आउँछ,’ उनले भने ।
यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले रुख, बिरुवा काटेको दृश्य हेर्दा विवेक नभएको ब्यक्तीले गरेको जस्तो देखिएको बताए । ‘यो राम्रो गतिविधी होइन, हामीसँग बिद्युतले कुनै समन्वय गरेको छैन,’ पोखरेलले भने ।
क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका अध्यक्ष एवम् अभियन्ता डा. बिनोद कर्णले बिद्युतले गैर कानुनी रुपमा रुख काटेको बताएका छन् । ‘यो कानून विपरित हो, रुख काट्नेलाई हदैसम्मको कारबाहीको माग गर्दछु,’ डा. कर्णले सामाजिक सञ्जालमा लेखेका छन् ।
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले सम्भावित दुर्घटनाबाट जोगाउन नांगो तारलाई छोएका रुख र हाँगाहरु काटिएको बताएका छन् । ‘नांगो तारहरुलाई छोएका रुखहरुलाई ब्यवस्थापन गरेका हौं,’ उनले भने । रुख काट्नु अघि प्राधिकरणले सार्वजनिक सूचना जारी गरेको वितरण केन्द्रले जनाएको छ ।