बाँके(बैजनाथ): शिक्षाको गुणस्तर माथी उठाउन बैजनाथ गाउँपालिकाले बिद्यालय अनुगमनको काम सुरु गरेको छ । गाउँपालिकाको गाउँ शिक्षा समितिले आइतबारबाट स्थलगत अनुगमन सुरु गरेको हो ।
गाउँपालिका अध्यक्ष एवम् गाउँ शिक्षा समितिका संयोजक प्रकाशबहादुर शाही र गाउँपालिका उपाध्यक्ष निर्मला रोकायको नेतृत्वमा छुट्टा-छुट्टै टोली अनुगमनमा निस्केको हो । अध्यक्ष शाहीको नेतृत्वमा रहेको टोलीले सुन्दर आधारभुत बिद्यालय छमनिया, सिंह भवानी आधारभुत बिद्यालय बनकटवा गाउँ र गुरुकुल धार्मिक बिद्यालय गुरुवा गाउँको निरीक्षण गरेको थियो ।
अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष शाहीसहित बैजनाथ-५ का वडाअध्यक्ष देवबहादुर रावत, गाउँपालिका शिक्षा शाखाकी शोभा ढकाल, गाउँ शिक्षा समितिका सदस्यद्धय पहलमान ओली र मानबहादुर खड्काको सहभागिता रहेको थियो ।
यसैगरी गाउँपालिका उपाध्यक्ष रोकाय नेतृत्वको टोलीले नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय टिटिहिरिया र लक्ष्मी माध्यामिक बिद्यालय गुरुदयालपुरको अनुगमन गरेको थियो । त्यस क्रममा उपाध्यक्ष रोकायसहित वडा नम्बर ८ का वडाअध्यक्ष भगन थारु, गाउँ शिक्षा समितिका सदस्यद्धय चन्तराम थारु र नैनसरा रिजालको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा टोलीले सामुदायिक बिद्यालय, गुरुकुल र मदरसामा शिक्षकको संख्या, भौतिक पुर्वाधार(खानेपानी, शौचालय, डेस्क र बेञ्च) को अवस्था बुझ्ने र गाउँ शिक्षा समितिको बैठकमार्फत आवश्यक निर्णय गर्ने बताइएको छ । गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा समेत रहेका शिक्षा शाखा प्रमुख विश्वराज ढकालले बिद्यालयको अवस्था हेरेर आगामी दिनमा आवश्यक रणनीति बनाइने बताए ।
गाउँपालिका अध्यक्ष एवम् गाउँ शिक्षा समितिका संयोजक शाहीले बिद्यालयमा शिक्षक अभाव रहेको पाइएमा अनुदान शिक्षक उपलब्ध गराउने, भौतिक पुर्वाधारको कमी देखिएमा त्यस्ता बिद्यालयलाई आवश्यक बजेट ब्यवस्था गर्ने बताए ।
‘गाउँपालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउने योजना अनुसार थालिएको यो अनुगमन हो, अनुगमनबाट बिद्यालयको समस्या देखेपछि हामीलाई रणनीति बनाउन सहज हुनेछ,’ उनले भने । गाउँपालिका उपाध्यक्ष रोकायले अनुगमनका क्रममा बिद्यालयको वास्तविक अवस्था थाहा पाइने बताइन् ।