नेपालगन्ज : द्धन्द्ध पीडितको सवालमा अहिलेसम्म भएका काम र पहिचान गरिएका मुद्दाहरुबारे सरोकारवालाबीच छलफल भएको छ । पिस विल्डिङ इनिसिएटिभको आयोजनामा गरिएको छलफलमा सरोकारवालाले द्धन्द्ध पीडितले अहिले पनि न्याय र परिपुरन पाउन नसकेको बताए ।
विभिन्न क्षेत्र सम्वद्ध सरोकारवालाले द्धन्द्ध पीडितले न्याय नपाउँदा उनीहरुको पारिवारीक अवस्थामा विचलन आएको, समाजमा अझैपनि घुलमिल हुन नसकेको जस्ता समस्या सिर्जना हुने गरेको बताए । द्धन्द्ध पीडितलाई राज्यले न्याय र परिपुरन दिनुको विकल्प नभएको उनीहरुको जोड छ ।
सो क्रममा राष्ट्रिय मानव अधिकार आयोगकी द्धारिका अधिकारी, एड्भोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक, अधिवक्ता बसन्त गौतम, उच्च अदालत बार नेपालगन्जका पुर्वअध्यक्ष बलबहादुर चन्द र विकास गौतम, जिल्ला अदालत बारका पुर्वअध्यक्ष विश्वजित तिवारी, अधिवक्ता सुनिता शर्मा, नेपाली काँग्रेस बाँकेका पुर्वसचिव कपिलदेव शर्मा, नेकपा एमालेका दत्तप्रसाद आचार्य, नेकपा माओवादी केन्द्रका नेता तारा केसी लगायतले आफ्नो धारणा राखेका थिए ।
उक्त कार्यक्रममा पिस विल्डिङ इनिसिएटिभका सुबेन्द्र बोगटीले संस्थाले गरेका कामबारे जानकारी दिएका थिए, भने कार्यक्रम संयोजक समिक्षा भट्टराईले रोल्पा, बाँके र बर्दियामा संस्थाले गरेका काम, द्धन्द्ध पीडितका सवाल लगायत विषयमा प्रस्तुतीकरण गरेकी थिइन् ।