नेपालगन्ज : मानव सेवा आश्रम नेपालगन्ज शाखाले बुधबार गरेको ‘आमा सेमिनार’ मा उपस्थित भएका सबैका आँशु रसाएका छन् । मानवता प्रवद्र्धन कार्यक्रम अन्तरगत बुधबार दिउँसो ३ बजेदेखी बेलुकी करिव साढें ६ बजेसम्म स्थानीय क्यु.एफ.एक्स. सिनेमा हलमा आमा सेमिनार चलेको थियो ।
मानव सेवा आश्रमका परिकल्पनाकार एवम् संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले छोरा, बुहारीबाट अपहेलित भएका कयौं आमा र बुवाका दुःख, बेदना सुनाउँदा हलमा उपस्थित भएका सबैंका आँशु रसाए ।
सबैंका आँशु रसाउँदा केहीबेरसम्म हलभित्रको वातावरण नै फरक बन्योे । त्यसपछि उपस्थित सबैले आफ्ना आमा, बुवा, गुरु र नेपालआमालाई सच्चा मनले माया गर्ने प्रतिज्ञा गरेका थिए । सन्तानले आफ्ना आमा र बुवाप्रति सच्चा मनले माया गर्ने हो भने मुलुकमा आश्रमको आवश्यक नपर्ने अधिकारीले बताए ।
परिवारबाट अपहेलित हुनुपर्दा अहिले कतिपय बुवाआमा सडक पेटीमा पुगेका छन् । कतिपय घरभित्र खुम्चिएर बस्नु परेको छ । सुन्दर र सभ्य समाज निर्माण गर्नका लागि आमा सेमिनारले महत्वपूर्ण भुमिका निर्वाह गरेको उपस्थित अधिकांसले प्रतिक्रिया दिएका छन् । सेमिनारले सकारात्मक प्रभाव पारेको उनीहरुले महसुस गरे ।
आमा सेमिनारलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादवले मानवताको सेवा नै धर्म भएको बताए । मान्छेले आफ्नो सच्चा मनबाट मानवलाई सेवा गरेपछि धर्म कमाउने उनले सुनाए ।
मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र, प्रेम र आफुलाई जन्मदिने माता पिताको महत्व बोध गराई, प्रेम, सद्भाव, करुणालाई जन जनमा, मन मनमा पुर्याउने उद्देश्यले सेमिनार आयोजना गरिएको आश्रमले जनाएको छ । देशलाई नै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको परिकल्पना गरी सेवा गरिरहेको आश्रमले उक्त सेमिनार बाँके जिल्लालाई केन्द्र बनाई जिल्लास्थित जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवाला, नागरिक समाजका अगुवा, शिक्षक, बिद्यार्थी, लगायतलाई सहभागी गराएको हो ।
आमा सेमिनारलाई ४ सय जनाले अवलोकन गरेको आश्रम बाँकेका संयोजक उर्विण सापकोटाले जानकारी दिएका छन् । सेमिनार उत्साहजनक रुपमा सम्पन्न भएको उनले बताए । मानवता अध्ययन केन्द्रको व्यवस्थापनमा उक्त सेमिनार निःशुल्क गरिएको थियो ।
आश्रमको केन्द्रीय कार्यक्रम अन्तरगत यसवर्ष ४५ स्थानमा आमा सेमिनार गर्ने योजना अनुरुप यसअघि पर्सा, लमजुङ, हेटौंडा, दाङ लगायतका स्थानमा कार्यक्रम गरिसकेको थियो । आश्रमको नेपालगन्ज शाखामा अहिले ५० जनाले आश्रय लिइरहेका छन् । आश्रमको आफ्नै भवन निर्माण गर्नका लागि नेपालगन्जका वरिष्ठ समाजसेवी एवम् दानवीर जयकेश सिंहले आफ्नो १० कठ्ठा जमिन प्रदान गरेका छन् ।
तस्बिरहरु : मानव सेवा आश्रम
यो पनि पढ्नुस् :
नेपालगन्जमा गरिदै ‘आमा सेमिनार’-(भिडियो सहित)